Odapalika - The Fourth Estate - चौथो अंग
बारपाक सुलिकोट गाउँपालिकाका एकजनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि

गोरखा - गोरखाका एकजनामा जापानिज इन्सेफ्लाईटिस पुष्टि भएको छ । बारपाक सुलिकोट गाउँपालिका ३ खारचोकभञ्ज्याङका एक पुरुषमा सो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए । बिरामीको हाल चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

लामो समयदेखि चितवनतिर बेवारिसे अबस्थामा घुमफिर गरी हिडेका उनलाई छोराबुहारीले फेला पारी घरमा ल्याएका थिए । घरमा आएपछि बिरामी भएका उनलाई गोरखाबजारस्थित एपोलो अस्पताल र प्रदेश अस्पताल गोरखामा उपचार गरिएको थियो । ‘त्यहाँ ब्यथा निको हुन नसकेपछि नारायणी सामुदायिक अस्पताल लगिएको रहेछ । त्यहाँ चेकजाँच गर्दा जापानिज इन्सेफ्लाईटिस पुष्टि भयो’, स्वास्थ्य प्रमुख भट्टले भने ।

उनमा जापानिज इन्सेफ्लाईटिस पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी गाउँपालिकाबासीलाई सुरक्षित रहन सचेत गराएको छ । ‘स्वास्थ्य शाखाका हामी, गाउँपालिका प्रमुख, उपप्रमुख, हेल्थपोस्टका स्टाफहरु, महिला स्वास्थ्य कार्यकर्ता सबै मिलेर वडा नं. ३ को खारचोकभञ्ज्याङ, ठोट्नेरी लगायतका आसपासका टोलमा गएर सचेत गराएका छौँ’, उनले भने, ‘जापानिज इन्सेफ्लाइटिस के हो ? यसको लक्षण कस्तो हुन्छ ? यो कसरी सर्छ, यसबाट कसरी बच्न सकिन्छ भनेर गाउँलेहरुलाई सचेतना जगाउने काम गरेका छौँ । सामाजिक सञ्जालहरुमा पनि यसबारे प्रचार प्रसार गरेका छौँ ।’ हाँस, सँगुर, बंगुरको खोरबाट उँडेर आएका लामखुट्टेबाट बच्न पनि आग्रह गरिएको उनले बताए ।

‘गाउँमा जापानिज इन्सेफ्लाइटिस संक्रमित भेटिएको बारे हामीले प्रदेश स्वास्थ्य निर्देशनालय र डब्लुएचओमा पनि जानकारी गराएका छौँ’, उनले भने, ‘अहिले सो टोलमा कोही पनि गम्भीर खालको बिरामी देखिएका छैनन् ।’
संक्रमित जनावरलाई टोकेर मान्छेलाई टोकेमा सो रोग सर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update