Odapalika - The Fourth Estate - चौथो अंग
त्रिविको जग्गामा रजाइँ गरिरहेका यी हुन् १८ संस्था

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकाृे जग्गामा विभिन्न १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको पाइएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिविको जग्गा खोजबिन समितिले दिएको प्रतिवेदनमा यो तथ्य उल्लेख छ । २०८१ मंसिरमा समितिले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।

समितिले प्रतिवेदनमा भनेको छ, ‘त्रिविका पदाधिकारी र कर्मचारीको मिलेमतोमा २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन शृंखलामा शैक्षिक माफियाको दादागिरी चलेको छ ।’

समितिले १ हजार ५ सय रोपनी त्रिविको जमिन विभिन्न संघसंस्थाले भोगचलन गरिरहेको जनाएको छ ।

यसरी संघसंस्थाले भोगचलन गरिरहेको जग्गामध्य केही जग्गा कार्यकारी परषिद्, सिन्डिकेट र त्रिवि कमिसनको निर्णयबाट स्वीकृति लिई भोगचलन गरेको पाइएको छ भने केही संघसंस्थाले बिना स्वीकृति जग्गा कब्जा गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिको प्रतिवेदनअनुसार, विसं २०१३ सालदेखि विभिन्न समयमा अधिग्रहण गरिएको कीर्तिपुर परिसरभित्र त्रिविको स्वामित्वमा ५ हजार ५० रोपनी जग्गा रहेको छ ।

यसमध्ये करिब ८४३ रोपनी १० आना ६ पैसा १ दाम जग्गा सरकारी निकाय र विभिन्न गैरसरकारी संघसंस्थाहरूले उपयोग गरिरहेको देखिएको छ ।

विभिन्न संघसंस्थाहरू र नेपाल सरकारको अनुरोधमा त्रिवि कार्यकारी परिषद्को निर्णयबाट जग्गा उपलब्ध गराइएका संस्थाहरूमा गणतन्त्र स्तम्भ निर्माणका लागि ६० रोपनी, बीपी प्लानेटोरियम तथा अब्जरभेटरीलाई १६० रोपनी, कृषि बागबानी केन्द्रलाई २८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई १०७ रोपनी जग्गा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, महानगरीय प्रहरी वृत्त (कीर्तिपुर) लाई ५ रोपनी, महानगरीय प्रहरी वृत्त (कालिमाटी) लाई ४ रोपनी, नेपाल प्राध्यापक संघलाई ६ रोपनी १२ आना, ग्लोबल आईएमई बैंक, लायन्स क्लब इन्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघलाई ७६ रोपनी ४ आना ३ दाम र नेपाल बैंक लिमिटेड भवनलाई समेत जग्गा उपलब्ध गराइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

तर, केही जग्गा संघसंस्थाहरूले विना स्वीकृति कब्जा गरी उपयोग गरेको समितिको प्रतिवेदनले देखाएको छ । यसमा, राधास्वामी सत्संग व्यास नेपाल नामक संस्थाले विसं २०४७–०४८ सालदेखि त्रिविको कुनै निर्णय, स्वीकृति वा सम्झौता विना करिब १५ रोपनी जग्गा अनधिकृत रूपमा प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कीर्तिपुर बहुमुखी क्याम्पसको नाममा नै जग्गा धनी दर्ता प्रमाणपूर्जा भएको १०८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा लेबोरेटरी माध्यमिक विद्यालयले अनधिकृत रूपमा जबरजस्ती कब्जा गरी उपयोग गरिरहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

त्रिवि र नेपाल क्रिकेट संघबीच मिति २०५४–०१–२० र २०५९–१–१ मा दुई पटक द्विपक्षीय सम्झौता गरी त्रिवी क्रिकेट रंगशालाको ७६ः४ः३ः० रोपनी जग्गा भाडामा दिइएको छ ।

यस्तै, नेत्रज्योती संघलाई मिति २०७२–३–२ गतेको सम्झौताअनुसार २० वर्षका लागि १० रोपनी जग्गा भोगाधिकारमा दिइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल बैंक लिमिटेडको विषयमा त्रिविले कहिलेदेखि जग्गा उपलब्ध गराएको भन्ने विवरण उपलब्ध नभएको प्रतिवेदनमा उल्लेख छ ।

तर, बैंकले समितिलाई उपलब्ध गराएको पत्रमा मिति २०२६–०८–२२ को त्रिवि रजिष्ट्रारको कार्यालयको पत्रका आधारमा जग्गामा भवन बनाई उपभोग गर्न स्वीकृति पाएको उल्लेख गरिएको छ ।

गणतन्त्र स्मारकका लागि भनी ६० रोपनी जग्गा नेपाल सरकारलाई मिति २०६८–१२–१४ मा उपलब्ध गराइएकोमा पछि उक्त स्थानमा स्मारक निर्माण नगर्ने भएपछि जग्गा त्रिवीलाई फिर्ता भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update