Odapalika - The Fourth Estate - चौथो अंग
दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै
फाइल तस्वीर

गण्डकी - ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न  परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा उक्त दिन दिउँसो १ बस्ने गरी बैठक तय भएको प्रदेशसभा सचिवालयले आज सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि उक्त मन्त्रालयको सभाकक्षमा प्रदेशसभा बैठक सञ्चालन हुन लागेको हो । यसअघि गत असोज २२ गते सोही स्थानमा बैठक आह्वान गरिए पनि प्राविधिक तयारी नपुगेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।

पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि भदौ २५ गतेका लागि बोलाइएको बैठक ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरिएपछि बस्न सकेन ।

पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने जनाइएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update