Odapalika - The Fourth Estate - चौथो अंग
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ?

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण आगामी बुधबार (कात्तिक २६ गते) मध्यरातबाट अनिवार्य अवकाश पाउँदै छन् । खापुङको अवकाशसँगै रिक्त हुने पदमा सरकारले कार्कीलाई नियुक्त गरेको हो ।

नवनियुक्त आईजीपी कार्की यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखका रूपमा कार्यरत थिए ।

को हुन् कार्की ?

गुल्मीको मालिका गाउँपालिका–७, घमिरमा २०२९ साल साउन १५ गते जन्मिएका कार्की प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट २०५४ साल चैत १८ गते सेवा प्रवेश गरेका थिए ।

उनीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।

प्रमुख अनुसन्धान र कमान्ड अनुभव

कार्कीले एसएसपीको जिम्मेवारीमा हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको कमान्ड सम्हालेका थिए । सोही अवधिमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख हुनुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

यसअघि, डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमान्ड सम्हालेका थिए । एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कास्कीलगायत विभिन्न जिल्ला र कार्यालयको नेतृत्व गरेको अनुभव उनीसँग छ ।

उनले आफ्नो कार्यकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा समेत काम गरिसकेका छन् ।

शैक्षिक योग्यता कति ? कहिले भयो पदोन्नति ?

कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले मानविकी तथा समाजशास्त्र, शिक्षा शास्त्र र कानुनमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

कार्कीको पदोन्नति यात्रा :

  • प्रहरी निरीक्षक : २०५४/१२/१८

  • प्रहरी नायब उपरीक्षक (डीएसपी) : २०६६/०८/२६

  • प्रहरी उपरीक्षक (एसपी) : २०७४/०४/१९

  • प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) : २०७९/०४/०३

  • प्रहरी नायब महानिरीक्षक (डीआईजी) : २०८१/०२/१३

  • प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) : २०८२/०१/११

  • प्रहरी महानिरीक्षक (आईजीपी) : २०८२/०७/२४

नवनियुक्त आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पूर्वी टिमोरमा दुईपटक (कुल तीन वर्ष) र हाइटीमा एकपटक (१८ महिना) सेवा गरेका छन् ।

उनले आफ्नो सेवा अवधिमा 'प्रवल जनसेवा श्री' विभूषण, संयुक्त राष्ट्र संघ पदक, प्रदेश सेवा पदकलगायत विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

उनले गण्डकी प्रदेश सरकारबाट ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनुका साथै हालसम्म १४ पटक नगद पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update