Odapalika - The Fourth Estate - चौथो अंग
१५ शय्याको फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत - एक स्थानीय तह, एक आधारभूत अस्पताल योजनाअन्तर्गत विगत छ वर्षअघि शिलान्यास गरिएको यहाँको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण सुरु गरिएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ मा प्रत्येक स्थानीय तहमा १० देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण अघि बढाए लगत्तै फलेवास नगरपालिकाले पनि १५ शय्याको अस्पताल शिलान्यास गरेको थियो । फलेवास नगरपालिका–६ देवी स्थानमा तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले अस्पतालको शिलान्यास गरेका हुन् । 

बजेट अभाव र प्राविधिक त्रुटीका कारण अलपत्र बनेको नगर अस्पताल नयाँ ठेक्का सम्झौता गरेर निर्माण थालिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत बजेट रु नौ करोड २८ हजारको लागतमा धमाधम निर्माण अघि बढेको फलेवास नगरपालिकाका नगर प्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । 

शिलान्यास गरिएका स्थान भन्दा भवन निर्माण स्थल परिवर्तन गरी नौ रोपनी क्षेत्रफलमा साढे दुई तले भवन तयार गरिने नगरपालिकाका इन्जिनियर टङ्कबहादुर खत्रीले जानकारी दिए ।

अस्पताल बनेपछि सामान्य उपचारका लागि सदरमुकाम कुस्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । भवन निर्माणको जिम्मा प्रतिष्ठा–जुम्ली–आचार्य जेभी. बागलुङले लिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update