काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बाराले बुधबार १२ः३० देखि कर्फ्यु लगाउने निर्णय गर्यो। कर्फ्युको कारण नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजीबीचको तनाब नियन्त्रण गर्नु थियो। तर अवस्था सोचेजस्तो भएन।
अहिले पनि जीतपुर सिमरा उपमहानगरपालिका दुई क्षेत्रमा कर्फ्यु जारी नै छ। गण्डक नहरदेखि फथलैया सडक खण्डको दायाँ–बायाँ ५ सय मिटर तथा सिमरा विमानसल वरिपरि ५ मिटिरसम्म कर्फ्यु लाग्यो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार कर्फ्यु साँझ ८ बजेसम्म जारी रह्यो।
प्रशासनले कर्फ्यु लगाए पनि आक्रोशित युवाले कर्फ्यु उल्लंघन गर्दै सिमरामा प्रदर्शन गरिरहे। ‘शान्ति सुरक्षा कायम गर्न युवा आ–आफ्नो घर फर्किनु होला’ भन्ने प्रहरीको माइकिङ उनीहरुले बेवास्ता गरिरहे।
झडप र कर्फ्युको भित्री सन्देश बुझ्न यसको पृष्ठभूमि केलाउनै पर्छ।
एमालेको प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न एमाले महासचिव शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलाई सिमरा पुग्नु थियो। सो कार्यक्रम लक्षित गर्दै जेनजी अगुवा सम्राट उपाध्यायले मंगलबार राति नै एमाले कार्यक्रम असफल पार्न शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए। पछि झडप हुँदा उनी पनि कुटिए, घाइते भए। सिमरा विमानस्थल क्षेत्र तनाबग्रस्त बन्यो।
यही पृष्ठभूमिमा प्रशासनले कर्फ्यु ओदश जारी गरेको हो।
बुधबार बारामा भएको तनाब केही समयपछि साम्य हुनेछ तर यसले दिएको दीर्घकालीन सन्देश सुखद हुने देखिँदैन। मुख्य राजनीति शक्तिका नेतालाई अवरोध गर्ने विषय राजनीतिक कुरा हो। यसको राजनीतिक अर्थ छ। बारा झडपले मुख्यतः चार सन्देश दिएको छ।
(१) एमालेलाई चुनौती
जेन–जी आन्दोलन नेपालमा भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध सुरु भएको हो। उनीहरूले स्थापित राजनीतिक दल र तिनका नेताहरूले देशको विकास र सुशासनमा ध्यान नदिएकोमा आपत्ति जनाउँदै आएका छन्। बाराको झडपले युवाले प्रमुख राजनीतिक दल एमालेलाई सिधै चुनौती दिन तयार रहेको सन्देश दिएका छन्। उनीहरूका गतिविधिमा अवरोध पुर्याउँदा सशक्त प्रतिरोध गर्ने सन्देश पनि दिएका छन्।
(२) चुनाबलाई खतरा
विमानस्थलमै भएको झडपमा स्थापित दलका नेताहरूले कार्यकर्ता घुसपैठ गराई सुनियोजित ढङ्गले तोडफोड गरेको आरोप जेन–जी अगुवाले लगाएका छन्।
बारामा कफ्र्यु तोडेर प्रदर्शन चलिरहँदा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘सरकार निर्वाचन—निर्वाचन भन्छ, आज ४ बजेतिर निर्वाचनबारे छलफल गर्न बोलाएको छ। कसैले भेला गर्छ, सभा गर्छ। त्यसैमा भौतिक आक्रमण गर्ने? सभा गर्न नदिने? यस्तो वातावरणमा कसरी चुनाब हुनसक्छ?’ निर्वाचन लक्षित उनको सवाल निकै अर्थपूर्ण छ। वास्तवमै दलहरुले स्वतन्त्र, शान्ति र निर्भयपूर्वक सभा, भेला गर्न नसक्ने अवस्थामा चुनाब हुन सक्छ?
(३) राजनीतिक ध्रुवीकरण
बाराको घटनामा पिटाइ खाएका सम्राट उपाध्यायले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न खोज्दा आफूहरुमाथि सुनियोजित आक्रमण भएको दाबी गरेका छन्। उनी सुदन गुरुङ समूहको बारा जिल्ला अध्यक्ष हुन्। यो झडपमा दुई पक्षले एक अर्कालाई सहिष्णुता साथ स्वीकार्न नसकेको देखाउँछ।फागुन २१ गते निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक ध्रुवीकरण बढ्दै गएको छ। अझ त्यो समूह र व्यक्ति केन्द्रित हुने खतरा बढेको छ।
(४) द्वन्द्वको खतरा
युवाले देशको बेथितिविरुद्ध आन्दोलन गरेका थिए। अहिले उनीहरुले दलका गतिविधिलाई देशको बेथितिको निरन्तरताको रुपमा हेरेजस्तो देखिन्छ। बुधबारको घटना भनेको देशभरि सञ्जाल फैलिएको ठूलो राजनीतिक दलका नेतालाई अवरोध गर्न खोजेको घटना हो। यो द्वन्द्वले संकेत गरेको अर्को खतरनाक सन्देश हो– स्थापित दलहरु युवाको विरोधलाई चुनौतीको रुपमा लिन्छन्। जेन–जी युवा दलका गतिविधिलाई बेथितिको निरन्तरता ठान्छन्। राजनीतिक ध्रुवीकरण द्वन्द्वमा विस्तार हुने खतरा बढ्दै गएको छ।
बुधबारको झडपले राजनीतिक वातावरण अझ स्थिर नभइसकको देखाउँछ। यो द्वन्द्वले राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियामा दीर्घकालीन असर पार्न सक्ने देखिन्छ।







