Odapalika - The Fourth Estate - चौथो अंग
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं- वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज  नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घ, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच छलफल भएको हो ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगार व्यवसायसँगै सेवा पनि भएकाले श्रमिकको सर्वोत्तम हितका लागि तीन तहकै सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिए। उनले व्यवसायमा देखापर्ने जुनसुकै सिन्डिकेट प्रवृत्ति आफूलाई स्वीकार नहुने र त्यसका विरुद्धमा निरन्तर लागिरहेको सुनाए।

साथै उनले वैदेशिक रोजगार सेवा शुल्कबारेमा छलफल गर्न तीन तहकै प्रतिनिधि र मन्त्रालयको वैदेशिक रोजगार महाशाखाको संयोजनमा छलफल समिति बनाउन आग्रह गरे ।

स्वास्थ्य व्यवसायी महासङ्घका महासचिव कृष्णप्रसाद बजगाईँले हालसम्म सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको बताए । व्यवसायी सङ्घका महासचिव महेशकुमार बस्नेतले स्वास्थ्यका नाममा एक प्रकारको सिन्डिकेट देखिएको बताए । अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतमले पछिल्लो समय प्रविधिमैत्री तालिम सुविधा वृद्धि गर्ने कार्य भइरहेको र अनुभवी प्रशिक्षणसमेत सहभागिता बढ्न थालेको प्रगति समीक्षा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update