काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आइतबार (पुस ६) मतदान हुँदै छ । मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।
मधेसको सभामुखका लागि जसपा नेपालका रामआशीष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले उमेदवारी दिएका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका उमेदवार हुन् ।
प्रदेशसभा सचिवालयले यसअघि प्रकाशित गरेको सभामुखको निर्वाचन कार्यतालिकाअनुसार सभामुख चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।
जसपा नेपालको प्रमुख सचेतक समेत रहेका यादवको उमेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र)का फकिरा महतो समर्थक छन् ।
सभामुखको उमेदवारी दर्ताअघि बसेको सातदलीय गठबन्धनको बैठकबाट यादवलाई सर्वसम्मत रूपमा साझा उमेदवार बनाउने निर्णय गरेको थियो ।
त्रिलोकी प्रसादको उमेदवारीमा एमालेकी प्रदेशसभा सदस्य शारदादेवी थापा प्रस्तावक र जयचन्द्रप्रसाद पटेल समर्थक छन् । उमेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकबाट त्रिलोकी प्रसादलाई आधिकारिक उमेदवार बनाउने निर्णय गरिएको थियो ।







