Odapalika - The Fourth Estate - चौथो अंग
रवि-बालेन भेटमा कुरा के भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार राति अबेरसम्म भेट भएको छ ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै बाहिर आएर राजनीति सक्रियतालाई तीव्रता दिएका छन ।

गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका हुन् ।
लामिछाने र बालेनबीच लगातार दुई दिन दुईपटक नै भेट भएको छ । रास्वपा स्रोतका अनुसार उनीहरुबीच आइतबार पनि भेट भएको थियो । सोमबारको भेट भने रास्वपा केन्द्रीय सदस्य असिम साहको घरमा भएको हो ।
छलफलमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए । रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए ।

छलफल सहकार्यमा केन्द्रित भएको बताइएको छ । ‘छलफल प्रगतिउन्मुख छ । कसरी सहकार्य गर्ने भन्नेमै केन्द्रित कुरा भयो’ सहभागी एक नेताले भने ।

भेटमा अबको निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव भएको पनि बताइएको छ । भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

छलफलका विषय सार्वजनिक त भएका छैनन् तर यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन् ।

भेटवार्ताको चाँजोपाँजो मिलाएका रास्वपा नेता असिम साहले सञ्चारकर्मीहरुसँग भने, ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’

उनले फेसबुकमा पनि लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनाको आरोपमा लामो समयको कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रविले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update