काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । सतजना जिल्ला न्यायाधीशहरूलाई यही पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
नियुक्त भएका निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जानकारी दिएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंलाई कोसी प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा खटिने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएका छन् ।
त्यस्तै मधेस प्रदेशमा धनुषा जिल्ला अदालतका शुभाषबाबु पुरी, बागमतीमा मकवानपुर जिल्ला अदालतका गीता श्रेष्ठ, गण्डकीमा कास्की जिल्ला अदालतका हिमलाल वेल्वासे, लुम्बिनीमा दाङ जिल्ला अदालतका प्रकाशप्रसाद पण्डित, कर्णालीमा सुर्खेतका दीपक ढकाल र सुदूरपश्चिमका लागि कैलाली जिल्ला अदालतका भुवनसिंह थापा निर्वचन अधिकृतमा नियुक्त भएका छन् ।







