Odapalika - The Fourth Estate - चौथो अंग
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिकमा विशेष आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज एक सूचना जारी गर्दै समाजमा वैमनस्यता फैलाउने कार्य नगर्न सचेत गराएका हुन्।प्रशासनद्वारा जारी विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्‍याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख गरिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा हुने गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको स्पष्ट पारेको छ । 

यदि कसैले सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री पोष्ट गरेमा वा फैलाएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । नागरिकहरूलाई संयमित रहन र सामाजिक एकता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update