Odapalika - The Fourth Estate - चौथो अंग
गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु

गोरखा- गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ आज(मंगलबार)सुरु हुने भएको छ । मंगलबार बिहान गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् ।

राष्ट्रिय गौ संरक्षण संघ तथा गुरु गोरक्षनाथ फाउन्डेशनको आयोजना र गोरखा नगरपालिका एवं गोरखा दरबार हेरचाह अड्डाको समन्वयमा खिचडी यात्रा सुरु गरिएको हो । बाजागाजा, मंगलधुन, स्वस्तिक वाचन सहित गोरखपुरसम्मको यात्रा सुरु गरिएको राष्ट्रिय गौ संरक्षण संघ गोरखाका संयोजक होमसिं बस्न्यातले बताए । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरिसकेपछि ‘खिचडी यात्रा’ को थालनी गरिएको उनले जानकारी दिए ।

‘राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि यो यात्राको सुरुवात गर्नु भएको थियो,’ उनले भने, ‘देशमा राजाको बहिर्गमनपछि यात्रा पनि रोकिएको थियो ।’ २० वर्षपछि यात्रा पुनः सुरु गरिएको उनले बताए । उनका अनुसार ‘खिचडी गौ’ यात्रा समेत भनिने यो यात्रालाई विगत दुई वर्षअघि पुनः सुरु गरिएको हो । हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन यात्रा सुरु गरिएको बस्नेतको भनाई छ । खिचडी यात्राले गोरखाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास लिएको छ ।

खिचडी यात्राका लागि यो वर्ष गोरखा नगरपालिकाले डेढ लाख रुपैँया सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै खिचडी यात्रालाई समावेश गरेर निरन्तरता दिँदै आएको हो ।

गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रम्हमूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको छ । यात्रामा रहेको टोली गोरखपुर पुगेर यहाँबाट लगिएको ‘खिचडी’का लागी चाइने १४ प्रकारका काँचो खाद्य बस्तुहरु चढाएर फर्किने छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update