काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
उनले बहुपक्षीय संस्थाको कमजोर र स्वास्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरूपयोग, साना–राष्ट्रको घट्दो निर्णय क्षमताका कारण पनि राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताए।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आज यहाँ आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषय कार्यक्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको आयाम, क्षेत्र, अभ्यासमा सरोकारवालाबीच साझा सोच र धारणा आवश्यक रहेको बताए।
उनले भने, “नेपालको भू–राजनीतिक अवस्थित, तरल राजनीतिक अवस्था, विभिन्न समूह तथा सङ्घसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारमा निर्भरता, घट्दो कृषि तथा बढ्दो आयातले आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ।”
उनले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षाको व्यवस्था जानु आजको अपरिहार्यता रहेको बताए।
प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका समयन्त्रको समन्वयात्मक उपयोग र प्रयोगबाट राष्ट्रियहितको जर्गेना गर्नु हो भने।
उनले भने, “हालको विश्वपरिवेशमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा केबल परम्परागत सैनिक सुरक्षामा मात्र सीमित नरही सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, बलियो कूटनीतिक, सफल सूचना संयन्त्र, प्रविधिको उपयोग एवं राष्ट्रियहितसँग सरोकार राख्ने सबै विषयसँग जोडिएको छ।”







