काठमाडौं । सरकारले २१ फागनुको प्रतिनिधिसभा निर्वाचन सुरक्षा प्रयोजनका लागि माग गरेको निर्वाचन (म्यादी) प्रहरीमा भर्ना हुने युवाको संख्या नै अपुग भएको छ ।
अधिकांश जिल्लामा माग अनुसार आवेदन नपरेपछि पुनः आवेदन माग गर्नुपरेको छ । धनकुटालगायतका जिल्लामा निर्वाचन प्रहरी भर्नाका लागि पुन म्याद थपिएको छ ।
देशभर करिब २ लाखले आवेदन दिए पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३६ जिल्लामा मागअनुसार म्यादी तथा सशस्त्र प्रहरीका लागि दरखास्त नै परेन ।
गृह मन्त्रालयले ४० दिनको कार्यअवधि तोकेर नेपाल प्रहरी मातहत परिचालन गर्न १ लाख ३३ हजार ९ सय ८९ र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत खटाउन १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई चुनावमा खटाउने निर्णय गरेको थियो ।
दुवै प्रहरीले २५ पुसबाट देशभरका जिल्लास्थित कार्यालयबाट दरखास्त आवेदन खुलाएकामा ३६ जिल्लामा मागेअनुसार आवेदन नपरेको हो । कम आवेदन परेका जिल्लामा दरखास्त दिने समय ३ माघसम्म थप गरिए पनि कतिपय जिल्लामा यो अवधिमा पनि आवेदन परेन
प्रहरी प्रधान कार्यालयका अनुसार कोशीमा ९ जिल्लामा कम आवेदन परेको छ । कोशीका धनकुटा, इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र ताप्लेजुङमा मागभन्दा कम आवेदन परेको छ । त्यस्तै बागमतीका ८ जिल्ला धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा पनि कम आवेदन परेको छ । गण्डकीका सबै जिल्लामा मागभन्दा कम आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गण्डकीका गोरखा, मनाङ, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पूर्वी नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत गरी ११ वटै जिल्लामा कम आवेदन परेको छ । लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानमा पनि मागअनुसार आवेदन परेन । सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, डडेल्धुरा र बैतडीमा मागअनुसार दरखास्त नपरेपछि आवेदन दिने म्याद शनिबारसम्म बढाइएको हो।
धनकुटामा माग गरेको संख्या अपुग भएपछि निर्वाचन प्रहरी भर्ना, छनौट तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्नाका लागि दोस्रो पटक म्याद थपेको हो । निर्वाचन प्रहरी भर्नाका लागि माघ १० र ११ गते आवेदन दिन सकिने गरि म्याद थप गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १ हजार ८५ जना भर्नाको लागि निवेदन माग गरिएको थियो । तर, १ हजार १८ जनाको मात्रै निवेदन परेको थियो । निवेदन परेका सबै छनौट हुँदा पनि ६७ जना अपुग भएको छ । निवेदन दिएका कतिपय सम्पर्कमा नआएका कारण १ सयभन्दा बढीको संख्यामा अपुग रहेको एसपी थापा क्षेत्रीले जानकारी दिए ।







