सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा संक्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् ।
यहाँ दादुरा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार संक्रमणको आशंका गरिएका २२ जनालाई उनीहरूकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलंगवावासीसँग अनुरोध गरेको छ ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप संक्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलंगवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए । सो अभियानअन्तर्गत मलंगवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ ।







