काठमाडौँ । उमदेवारी दर्ता गराउन झापाको दमक गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन् । शनिबार साँझ उनी विराटनगरबाट हवाइ मार्ग हुँदै काठमाडौँ आएका हुन् ।
शनिबार साँझ काठमाडौं फर्कन उनी अपराह्न नै विराटनगर पुगेका थिए । विराटनगर विमानस्थलनजिकैको एउटा होटेलमा उनी केही घण्टा बसे । त्यहाँ उनले आफ्नो पार्टीका मोरङका उमेदवारहरूसँग केहीबेर छलफल गरे । मोरङ क्षेत्र नम्बर–३ बाट रास्वपाका उमेदवार गणेश कार्कीले बालेनसँग केही बेर चुनावी तयारीलगायत विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘पार्टी प्रतिनिधि र उमेदवारहरूसँग छलफल गर्नुभयो ।’
बालेन होटेलबाट निस्कँदै गर्दा ‘झापा–५ मा तपाईंको उमेदवारी केका लागि ? कस्तो परिणाम आउने आकलन गर्नुभएको छ ?’ भन्दै पत्रकारले प्रश्न गरेका थिए । तर, बालेन नबोली तर्किए । प्रश्नहरू नसुनेझैँ गरी उनी सोझै गाडीमा गएर बसे । त्यहाँ एउटा कागजमा केही लेखे । त्यसपछि समर्थकलाई अभिवादन गर्न गाडीबाट माथि उक्लिए । अनि, नमस्कार गर्दै विमानस्थलतर्फ अघि बढे ।
उम्मेदवारी दर्ताको दिन बालेनले दमकमा समर्थकसँग भेटघाट गरेका थिए । रास्वपा समर्थक र कतिपय सर्वसाधारण उनीसँग भलाकुसारी गर्न त्यहाँ पुगेका थिए । केही बालबालिका र स्थानीय नेतृत्वसँग उनले खिचाएका तस्बिर क्षणभरमै ‘भाइरल’ भएको थियो । उनको टिमले भाडामा लिएको घरमा पुगेका समर्थक र सर्वसाधारणसँग उनले भेटघाट गरेका थिए । उनीहरूसँग तस्बिर पनि खिचाए । त्यसको अघिल्लो दिन निकै ठूलो समर्थकको उपस्थितिसहित उनले मनोनयनपत्र दर्ता गराएका थिए ।
त्यसपछि बालेन मेची पहाडका जिल्ला दौडाहामा निस्किए । तर, जहाँ जहाँ गए, उनी प्रतिक्रियाविहीन देखिए । समर्थकलाई अभिवादन गरे, तर केही बोलेनन् । राजनीतिक कार्यक्रम राखेनन् । सभा–सम्मेलन गरेनन् । जता पुगे, नमस्कार गर्दै हात हल्लाउँदै बिदा भए । दमकपछि बालेन इलाम पुगे । त्यहाँ रास्वपाका उमेदवार र समर्थकलाई अभिवादन गरे । इलामबाट पाँचथर हुँदै उनी ताप्लेजुङ पुगेर शुक्रबार पाथीभरा मन्दिरको दर्शन गरे । आफू त्यहाँ पुगेको जनाउ दिन उनले फेसबुक स्टाटस लेखे– जय पाथीभरा, जय मुक्कुमलुङु ।
पाथीभरा मन्दिरको दर्शन गरेर ताप्लेजुङबाट फर्किएका बालेन शनिबार नै धनकुटा पुगेका थिए । तर, गाडीबाट ओर्लिएनन् । उनले धनकुटा सदरमुकाम परिक्रमा गर्दै समर्थक र मतदातासँग भेट्ने कार्यक्रम तय थियो । तर, अन्तिम समयमा स्थगन गर्दै सोझै गाडीबाटै फर्किए । पैदल हिँड्दै मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा कार्यव्यस्तताका कारण स्थगन गरिएको रास्वपाले जनाएको छ ।
भीमनारायण चोकमा उनले गाडीबाट नओर्ली झ्यालबाटै केही बेर कार्यकर्ता र समर्थकसँग हात मिलाएका थिए । रास्वपा धनकुटाले बालेनको आगमनलाई लिएर केही दिनअघिदेखि प्रचार गरे पनि उनी सदरमुकाममा गाडीबाट नओर्ली नै फर्किएका हुन् । रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालका अनुसार, आसन्न निर्वाचनअघि कुनै एक दिन बालेनको प्रमुख आतिथ्यतामा त्यहाँ आमसभा आयोजना गरिनेछ । “बालेनले फेरि आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” दाहालले भने ।
धनकुटा सदरमुकाम आउनुपूर्व बालेनले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए । उनी शुक्रबार तेह्रथुम सदरमुकाम म्याग्लुङमा बास बसेका थिए । शनिबार बिहान उनी उतैबाट धनकुटा प्रवेश गरेका थिए ।







