उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित

 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा उपस्थित हुँदा पनि कालो चस्मा लगाउने भएका छन् ।

भोलि (बुधबार) दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले कालो चश्मा प्रयोग गर्ने भएका हुन् ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरूमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। कालो चस्मा लगाउनुपर्ने अवस्था रहे स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन उनले आग्रह गरेका थिए।

प्रधानमन्त्री शाह पनि प्रतिनिधिसभाका सांसद हुन् ।

प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।

प्रधानमन्त्रीको तर्फबाट संसदलाई लेखिएको पत्रमा प्रधानमन्त्रीले आँखामा समस्याका कारण कालो चस्मा लगाउनुपरेको उल्लेख गरिएको संसद सचिवालयले. जानकारी दिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्टमा उज्यालोमा हेर्न असहज हुने उल्लेख छ । प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखा परीक्षण गराएका थिए। उनका आँखा लेफ्टिनेट कर्णेल डा. सचित ढकालले परीक्षण गरेका थिए।

आँखा परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुन्छ भने आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने उल्लेख छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update