काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनका क्रममा कोशी प्रदेशमा जुन दृश्य देखियो, त्यसले नेपालको निर्वाचन प्रणाली र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
एकातिर काठमाडौंमा बसिरहेका सांसदको नाममा विराटनगरमा फर्जी मत खसालिएको छ भने, अर्कातिर नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरूको बलियो भनिएको गठबन्धनलाई लत्याउँदै जनप्रतिनिधिहरूले नै खुल्लमखुला फ्लोर क्रस गरेका छन् ।
यो निर्वाचनको सबैभन्दा कलंकित पक्ष भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश सभा सदस्य प्रेमराज थाम्सुहाङको नाममा खसेको फर्जी मत हो । सांसद थाम्सुहाङ विगत तीन दिनदेखि काठमाडौंमा छन् ।
उनी भौतिक रूपमा विराटनगरको मतदान स्थलमा उपस्थित नै थिएनन् । तर, निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतदान गर्नेहरूको सूचीमा उनको नाम समावेश छ ।
सांसद थाम्सुहाङले काठमाडौंबाट आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘म तीन दिनदेखि काठमाडौंमा छु, आज पनि यतै छु । मैले मतदान गरेको छैन, तर मेरो नाममा कसले भोट हाल्यो ? यो सरासर अपराध हो ।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत आफ्ना सांसद काठमाडौंमै रहेको र उनले मतदान नगरेको पुष्टि गरिसकेका छन् । तर, मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले भने उनीहरूको नाममा मतदान भएको भन्दै लाचारी प्रकट गरेका छन् । उनले भने, ‘कागजात सिलबन्दी भइसकेकाले अब हस्ताक्षर रुजु गर्न सकिने अवस्था छैन, अदालतमा मुद्दा परे मात्र छिनोफानो होला ।’
अर्कातर्फ, कांग्रेस–एमाले गठबन्धनको भोट क्रस भएको देखिएको छ ।
कोशीमा नेकपाको कुल मतभार मात्र १५८५ थियो । तर, परिणाम सार्वजनिक हुँदा नेकपाका उम्मेदवारहरूले आफ्नो वास्तविक मतभार भन्दा निकै बढी मत ल्याएका छन् ।
नेकपाकी महिला उम्मेदवार नमिता न्यौपानेले गठबन्धनका ५ प्रदेश सांसद र २२ स्थानीय तहका पदाधिकारीको मत चोर्न सफल भइन् । उनले ६८३ थप मतभार बटुलिन् ।
त्यस्तै, दलिततर्फका उम्मेदवार खेम सुन्दासले पनि १ प्रदेश सांसद र २१ स्थानीय तहका पदाधिकारीको मत तान्न सफल भए । उनले ४५२ थप मतभार बटुलेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पार्टी सभापति उद्धव थापाले नै भोट पैँचो दिएको बताए ।
उनले नेकपाले कांग्रेसका सुनिल थापालाई निर्विरोध गराउन सहयोग गरेको बदलामा यताबाट भोट गएको हुन सक्ने बताए ।







