Odapalika - The Fourth Estate - चौथो अंग
गाईले घाँस खाएको निहुँमा विवाद हुँदा खुकुरी प्रहार गरी छिमेकीको हत्या

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ।

इखम्बुका ४७ वर्षीय लीलाप्रसाद राईको खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए। अर्यालका अनुसार, शनिबार दिउँसो लीलाप्रसादका छिमेकी ५९ वर्षीय शिवकुमार राईले खुकुरी प्रहार गरेका थिए। 

गाईवस्तुले घाँस खाएको निहुँमा विवाद भएको प्रहरी निरीक्षक अर्यालले बताए। विवावले उग्र रूप लिएपछि खुकुरी हानाहान भएको हो।

शिवकुमारले खुकुरी प्रहार गरेपछि लीलाप्रसादको घटनास्थलमै मृत्यु भएको अर्यालले जानकारी दिए। शिवकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

लीलाप्रसादको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर लगिएको छ। (रासस)
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update