काठमाडौं । नर्वेली प्रहरीले राजकुमारी मेटे–मारिटका जेठा छोरा मारियस बोर्ग होइबीलाई पक्राउ गरेको छ । राजपरिवारका यी सदस्यमाथि बलात्कार जस्तो जघन्य अपराधसहित अन्य धेरै कानुनी उल्लंघनका आरोपहरू लागेका छन् ।
प्रहरीका अनुसार, होइबीलाई आइतबार साँझ नियन्त्रणमा लिइएको हो । उनीमाथि कुटपिट, चक्कु देखाएर धम्की दिएको र पीडितसँग टाढा बस्नुपर्ने अदालती आदेशको उल्लंघन गरेको आरोप समेत छ ।
अदालतमा भोलिदेखि सुनुवाइ सुरु हुँदै
राजधानी ओस्लोको एक अदालतमा फेब्रुअरी ३ देखि उनीविरुद्धको मुद्दामा सुनुवाइ सुरु हुँदै छ । मारियस बोर्ग होइबीमाथि कुल ३८ वटा धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ । जसमा प्रमुख आरोपहरू पूर्वप्रेमिकामाथि शारीरिक र मानसिक दुर्व्यवहार, ३.५ किलोग्राम गाँजाको तस्करी र ज्यान मार्ने धम्की र ट्राफिक नियमहरूको गम्भीर उल्लंघन छन् ।
होइबीलाई सन् २०२४ मा पनि पटक–पटक पक्राउ गरिएको थियो, तर मुद्दाको प्रक्रिया सुरु नभएसम्मका लागि उनलाई सर्तसहित रिहा गरिएको थियो ।
होइबी नर्वेकी राजकुमारी मेटे–मारिटका छोरा हुन् । राजकुमारीको पहिलो प्रेम सम्बन्धबाट जन्मिएका उनी भावी राजा प्रिन्स हाकोनका सौतेनी भाइ हुन् । उनीमाथि सन् २०१८ देखि २०२४ को अवधिमा चार पटक बलात्कारको आरोप लागेको छ ।
होइबीको कानुनी टोलीले भने उनले यौन दुर्व्यवहारका सबै र हिंसाका अधिकांश आरोपहरू अस्वीकार गरेको बताएको छ । अर्कोतर्फ, प्रिन्स हाकोनले गत हप्ता नै आफू र आफ्नी आमा (राजकुमारी) सुनुवाइका क्रममा अदालत नजाने स्पष्ट पारिसकेकी छिन् । राजदरबारले यस कानुनी प्रक्रियाका बारेमा कुनै पनि औपचारिक प्रतिक्रिया नदिने जनाएको छ ।







