काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ सम्पन्न भएको छ।
सोमबार समापन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका मार्गदर्शक हुने बताए।
सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधारः नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरणमा छलफल भएको थियो।
त्यस्तै, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवद्र्धनमा प्रहरीको भूमिका लगायतका विषयमा सहभागी र विषय विज्ञबीच छलफल भएको छ।
विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीको समग्र मूल्यांकन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्ने उद्देश्य रहेको प्रहरीले जनाएको छ। सम्मेलनबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण पृष्ठपोषण मिलेको आईजीपी कार्कीले बताए।
सम्मेलनमा प्रहरीका उच्च अधिकारीसँगै अवकासप्राप्त सुरक्षा अधिकारी र अन्य क्षेत्रका विज्ञ सहभागी थिए।







