Odapalika - The Fourth Estate - चौथो अंग
मोरङ ६ का उम्मेदवार विनोद ढकाललाई पितृ शोक

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार रहेका नेकपा (एमाले)का नेता विनोद ढकाललाई पितृ शोक परेको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा घरदैलो, मतदाता भेटघाट र चुनावी रणनीतिमा व्यस्त रहेका ढकालका १०१ वर्षीय पिता विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगर महानगरपालिका–५ स्थित आफ्नै निवासमा निधन भएको हो। चुनावी अभियानको निर्णायक घडीमा परेको यो शोकले ढकालको व्यक्तिगत जीवनमा मात्रै नभएर उनको राजनीतिक अभियानलाई पनि प्रत्यक्ष असर पारेको छ।

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ढकाल विगत केही समयदेखि निरन्तर चुनावी कार्यक्रममा सक्रिय थिए।

बिहीबार बिहान उनी मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत गोठ गाउँ क्षेत्रमा घरदैलो एवं मतदाता भेटघाट अभियानमा संलग्न रहेका बेला बुवाको निधन भएको खबर पुगेको थियो। खबर पाउने बित्तिकै उनी कार्यक्रम स्थगित गर्दै तत्काल विराटनगर फर्किएका थिए।

हिन्दु परम्परा अनुसार शोकमा बसेका ढकाल केही दिन औपचारिक रूपमा चुनावी कार्यक्रमबाट टाढा रहनेछन्। उनको अनुपस्थितिमा एमालेले चुनावी अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ।

पार्टीले पूर्वमन्त्री तथा नेता लालबाबु पण्डितलाई मोरङ क्षेत्र नम्बर ६ को चुनावी कमान्डर तोकेको छ। ढकालको अनुपस्थितिमा घरदैलो, मतदाता भेटघाट, टोल सभा र प्रचारप्रसार कार्यक्रमलाई पार्टी संरचनामार्फत पण्डितको नेतृत्वमा गतिविधि अघि बढाइने जनाइएको छ।

एमाले मोरङका उपाध्यक्ष सागर थापाले उम्मेदवार शोकमा रहेका कारण पार्टी पङ्क्तिले सामूहिक रूपमा अभियान सम्हाल्ने बताए।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update