इरानसँग युद्ध लम्ब्याउन ट्रम्पलाई उक्साइरहेछन् साउदीका राजकुमार

काठमाडौं । साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानसँगको युद्ध जारी राख्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाएका छन् । इरानविरुद्ध अमेरिकी–इजरायली हमला पश्चिम एसियालाई कायापलट गर्ने अवसर भन्दै युद्ध जारी राख्न सुझाएको समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको छ । 

ट्रम्प र सलमानबीच गत साता युद्धबारे श्रृंखलाबद्ध संवाद भएको थियो । त्यसक्रममा उनले इरानको कट्टरपन्थी शासनको अन्त्य हुनुपर्ने बताएको संवादबारे जानकार अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ । 

पश्चिम एसियाका लागि इरान दीर्घकालीन खतरा रहेकाले उसलाई कमजोर बनाउनुपर्ने पक्षमा साउदीका राजकुमार देखिएका छन् ।

इजरायलले आफूसँग जुध्नै नसक्नेगरी इरानलाई असफल राष्ट्रमा परिणत गर्न खोजेको विश्लेषकहरू बताउँछन् । यता, साउदीले भने इरान असफल राष्ट्र बन्दा आफूमाथि झनै सुरक्षा खतरा हुने देखेको छ ।

साउदी र अमेरिकी वरिष्ठ अधिकारीहरूले द्वन्द्व लम्बिए इरानले साउदीमाथि थप हमला गर्ने र अमेरिका अन्त्यहीन युद्धमा धकेलिने चिन्ता व्यक्त गरेका छन् । 

सार्वजनिक रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि पहल भइरहेको बताएका छन् । “इरानसँगको शत्रुतापूर्ण सम्बन्ध सधैँका लागि अन्त्य गर्न फलदायी वार्ता भइरहेको छ,’’ ट्रम्पले भनेका थिए । ट्रम्पले युद्ध रोकिने संकेत गरे पनि झनै चर्किने सम्भावना बढिरहेको छ । 

युद्ध चर्किए साउदी अरबको अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्नेछ । इरानी ड्रोन हमलाका कारण यसै पनि पेट्रोलियम बजारमा ठूलो प्रभाव परेको छ । 

साउदीका राजकुमारले ट्रम्पलाई युद्ध जारी राख्न सुझाएको विषयलाई साउदीका अधिकारीहरूले नकारेका छन् । “साउदी अरब जहिले पनि शान्तिको पक्षमा छ । यो युद्धअघि नै साउदी सम्झौताका लागि सहयोग गरेको थियो । शान्तिपूर्ण समाधानको हाम्रो प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन,’’ न्युयोर्क टाइम्सले साउदीका ती अधिकारीलाई उद्धृत गरेको छ । 

इरानले शान्तिपूर्ण अवतरणको सट्टा खतरानक बाटो रोजेको ती अधिकारीले बताए । यसले इरानलाई समेत क्षति पुर्‍याउने उनको जिकिर छ । “इरानले संवेदनशील कूटनीतिको सट्टा युद्धको भयानक बाटो रोज्यो । यो कदमले अरुलाई क्षति पक्कै पुर्‍याउँछ । त्योभन्दा बढी क्षति इरानको हुनेवाला छ,’’ साउदी ती अधिकारीको दाबी छ ।

ट्रम्पले युद्धको अवतरण चाहिरहेका बेला साउदीका राजकुमारले भने उक्त कदम गलत हुने मत राखेका छन् । उनले ट्रम्पसँग इरानका ऊर्जा पूर्वाधार कमजोर बनाउँदा मात्रै इरानी सरकार कमजोर हुने बताएका छन् । 

ट्रम्प र साउदी अरबका राजुकमारबीचको संवादबारे ह्याइटहाउसकी प्रेस सल्लाहकार क्यारोलिन लिभिटले भनेकी छिन्,’’राष्ट्रपतिका गोप्य संवादबारे कुनै पनि टिप्पणी गर्न चाहन्नँ ।’’

साउदीका राजकुमारलाई ट्रम्पले निकै सम्मान गर्छन् । उनले विगतमा पनि राष्ट्रपति ट्रम्पका कतिपय निर्णयमा प्रभाव पारेका छन् । राजकुमार मोहम्मदले ट्रम्पलाई इरानमा स्थल सेना पठाउन सुझाएका छन् । अमेरिकी अधिकारीहरूका स्थल सेनामार्फत ऊर्जा पूर्वाधार कब्जा गर्न सक्ने विश्वास राजकुमारको छ ।  

हाल ट्रम्प इरानको तेल पूर्वाधारको मुख्य केन्द्र खार्ग टापु कब्जाका लागि चिन्तनमा रहेका छन् । खार्गमा सेनाको हवाई दस्ता वा मरिन कमान्डोहरूको आक्रमण नै खतरानक हुने सुझाव ट्रम्पलाई प्राप्त भइरहेको छ । यस्तो अवस्थामा राजकुमार मोहम्मदले स्थलगत हमलाको वकालत गरिरहेको संवादबारे जानकारहरूले न्युयोर्क टाइम्ससँग भनेका छन् । 

युद्धबारे साउदीका विचार आर्थिक र राजनीतिक कारणबाट प्रेरित छन् । युद्ध लगत्तै इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध गर्दा साउदीको ऊर्जा व्यापार डामाडोल छ । साउदीको अधिकांश तेल हर्मुज हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्छ । 

साउदी अरब र यूएईले हर्मुकजको विकल्पमा  पाइपलाइन बनाए पनि उक्त पूर्वाधारमा पनि हमला भएको छ । अमेरिका पछि हट्दा साउदी अरब र यूएईले आक्रोशित इरानको सामना एक्लै गर्नुपर्ने त्रासका कारणले साउदी राजकुमारले ट्रम्पलाई युद्ध जारी राख्न सुझाएको विश्लेषकहरूको मत छ । 

अधुरो सैन्य आक्रमणले साउदी अरबमा इरानी हमलाको जोखिम बढ्ने र हर्मोज बन्द गर्नसक्ने सामर्थ्य रहिरहने हुनाले युद्ध अन्त्य हुन नहुने पक्षमा साउदी रहेको छ । “साउदीका अधिकारीहरू युद्ध अन्त्यको पक्षमा नरहेका होइनन् । तर, युद्ध अन्त्यको तरिका उनीहरूका लागि खास माने राख्दछ,’’ इन्टरनेसनल क्राइसिस ग्रुपका यासमिन फारुक भन्छन् । 

सन् २०१९ मा साउदीका तेल पूर्वाधारहरूमा इरान समर्थित हमला भएको थियो । यसले केही समयका लागि आधा तेल उत्पादन ठप्प भएको थियो । यो घटनाले पनि राजकुमार मोहम्मदमा इरानलाई कमजोर बनाउनुपर्ने भावना थप जागृत गरेको छ । 

सन् २०२३ मा साउदी र इरानले सम्बन्ध सुधारको पहल पनि गरेका थिए । अमेरिकासँगको निकटताले इरानको खतरालाई आंशिक रक्षा गर्ने कारणले उनीहरूले सम्बन्ध सुधारको थालनी गरेका थिए । यस क्षेत्रको अर्को राष्ट्र यूएईले पनि यही कारणले  इरानसँग सम्बन्ध सुधार गरिरहेको थियो । 

ट्रम्पलाई खाडी मुलुकका सरकारले युद्ध नगर्न दिएको सुझावविपरीत अमेरिका अघि बढेसँगै इरानले खाडी राज्यमा ड्रोन तथा क्षेप्यास्त्रबाट भीषण आक्रमण गरिरहेको छ । “इरानसँगको सम्बन्ध सुधार हुने हाम्रो आशा समाप्त भएको छ,’’ साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले भनेका छन् ।  

साउदी अरबसँग क्षेप्यास्त्रलाई निष्प्रभावी बनाउने इन्टरसेप्टरको ठूलो भण्डारण छ । त्यही प्रयोग गर्दै अहिलेसम्म इरानको घातक हमलाको क्षति न्युनीकरण गरिरहेको छैन । यद्यपि, इन्टरसेप्टरको विश्व्यापी आपूर्ति पनि समस्या हुन थालेको छ । इरानको हमलाबाट साउदीका तेल प्रशोधन केन्द्रमा क्षति पुगेका छन् । साउदीस्थित अमेरिकी दूतावास पनि निसानामा परेको छ । साउदीको इन्टरसेप्टरको टुक्रका खस्दा दुई बंगलादेशी नागरिक र दर्जनौँ साउदी नागरिक घाइते भएका छन् । 

इरानमा सत्ता परिवर्तनका लागि हमला गर्दा अमेरिकाले आफ्नो देशको क्षेप्यास्त्र प्रणाली कमजोर बनिरहेको छ । इजरायलको हमलाबाट प्रभावशाली नेताहरू मारिँदा समेत यता इरानको कट्टरपन्थी सरकार डगमगाएको छैन ।

इरानको जवाफी हमलाका कारण धार्मिक सरकारलाई हटाउने कुरामा ट्रम्प प्रशासन सशंकित देखिएको छ । 

इरानको वर्तमान सरकार असफल भएको अवस्थामा त्यहाँ अन्य सशस्त्र समूहहरू बलियो हुने र त्यसले आफ्नो सुरक्षामा थप प्रभाव पार्ने विषयले साउदी थप चिन्तित देखिएको छ । साउदीका राजकुमारले युद्धलाई आफ्नो प्रभाव विस्तारको अवसरका रूपमा पनि लिएको केही अधिकारीहरू बताउँछन । युद्ध जारी रहेको अवस्थामा पनि साउदीको सुरक्षाका लागि राज्य सक्षम रहेको आत्मविश्वास उनमा छ । 

राजकुमार मोहम्मद युद्ध लम्ब्याउन आग्रह गर्दा ट्रम्पले पेट्रोलियम मूल्य आकाशिएर संकट निम्तिने चिन्ता प्रकट गरेका थिए । उक्त संकट क्षणिक हुने भन्दै मोहम्मदले ट्रम्पलाई आश्वस्त बनाउन खोजेको संवादबारे जानकार अधिकारीहरूले बताएका छन् । 

अमेरिकी र उक्त क्षेत्रका अधिकारीहरू युद्धका कारण तेल बजारमा परेको असरबाट चाँडै तंग्रिने कुरामा विश्वस्त छैनन् । साउदीको पाइपलाइनले हर्मोजमा अवरोध हुँदाको क्षतिपूर्ति गर्न नसक्ने उनीहरू बताउँछन् । 

हर्मुज बन्द भए पनि अन्य मुलुकको तुलनामा साउदीलाई कमै असर पर्छ । यद्यपि, उक्त जलमार्ग चाँडै सुचारु नभएमा उसले पनि भयावह परिणामको सामना गर्नुपर्ने हुन्छ । युद्धअघि नै राजकुमार मोहम्मदले गम्भीर वित्तीय चुनौती सामना गरिरहेका थिए । साउदीलाई विश्वव्यापी व्यापरिक केन्द्रमा रूपान्तरण गर्ने उनको समयसीमा पनि नजिकिँदै छ । यता, महत्त्वाकांक्षी आयोजना र एआईमा गरेका विशाल लगानीले साउदीलाई आर्थिक चापमा पारेको छ ।

राजकुमारको सफलता लगानीकर्ता र पर्यटकहरूका लागि सुरक्षित वातावरणमा टिकेकव छ । इरानसँग युद्ध चर्किए उनलाई पनि जोखिममा पार्नेछ । युद्ध अन्त्यबारे साउदीको दृष्टिकोण सोध्दा विदेशमन्त्री फैसलले भने, “हामी इरानले छिमेकी मुलुकमा हमला नगरोस् भन्ने मात्र चाहान्छौँ । यसका लागि हामी आर्थिक, राजनीतिक र कूटनीतिकसँगै उपलब्ध सबै संयन्त्रको परिचालन गरिरहेका छौँ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update