एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ-  नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। 

गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो।

शर्मा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो। 

ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन्। उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो। 

त्यतिबेला शर्माविरुद्धको जाहेरीमा सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो। जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। 

शर्मामाथि मुद्दा नचलाउने सरकारी वकीलको निर्णयसहितको फाइल मानव अधिकार आयोगलेसमेत झिकाएको थियो। 

सत्ताको प्रभावमा परेर आफ्ना सांसदलाई उन्मुक्ति दिएकोमा विरोध भएपछि आयोगले चासो देखाएको थियो। 

त्यतिबेला काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन)ले यसबारे प्रतिक्रिया दिएका थिए। 

उनले लेखेका थिए, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ। यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्नपर्छ।’

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update