काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठन भएको प्रारम्भिक चरणमै कार्यसम्पादनलाई तीव्र बनाउन मन्त्रीहरूसँग प्रत्यक्ष संवाद सुरु गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूलाई एक्लाएक्लै बोलाएर उनले मन्त्रालयगत कामको अवस्था, कर्मचारी संयन्त्रको सहयोग र कार्यान्वयनका क्रममा देखिएका समस्याबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्रीसँगको भेटपछि एक मन्त्रीले बताएअनुसार बालेन शाहले कामको गति र परिणाममा विशेष जोड दिएका छन्। “प्रधानमन्त्रीले काम कस्तो भइरहेको छ भनेर सोध्नुभयो, कुनै अप्ठेरो छ भने सिधै भन्नू भन्नुभयो,” ती मन्त्रीले भने, “राम्रो काम गर्न प्रोत्साहन दिनुभयो र ढिलाइ नगरी काम अघि बढाउन निर्देशन दिनुभयो।” उनका अनुसार प्रधानमन्त्रीले समस्या लुकाएर राख्नुभन्दा खुलेर जानकारी गराउन आग्रह गरेका छन्, जसले समाधान प्रक्रियालाई छिटो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले सरकार गठन भएको छोटो समयमै परिणाम देखिनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले मन्त्रीहरूलाई ‘अलमल नगरी’ आफ्नो जिम्मेवारी क्षेत्रमा केन्द्रित भएर तत्काल काम अघि बढाउन स्पष्ट निर्देशन दिएका छन्।
“हामीले मन्त्रालय सम्हालेको एक दिन मात्रै भएको छ, त्यसबीचमा कर्मचारीहरूको सहयोग, संरचना र कामको अवस्था बुझ्न उहाँले सबै मन्त्रीलाई छुट्टाछुट्टै बोलाउनुभएको रहेछ,” अर्का एक मन्त्रीले बताए, “उहाँले भन्नुभयो—अप्ठेरो भए म समाधान गर्छु, तर आफ्नो जिम्मेवारीको काम प्राथमिकतामा राख्नुपर्छ।”
शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए। सोही दिन उनीहरूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पदबहाली गरेका थिए। नयाँ सरकार गठनसँगै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउने उद्देश्यले प्रधानमन्त्रीले पहिलो दिनदेखि नै स्पष्ट निर्देशनहरू दिएका छन्। शुक्रबार नै प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका सचिवहरूलाई मन्त्रीहरूसँग समन्वय गर्दै पूर्ण सहयोग गर्न निर्देशन दिएका थिए।
प्रशासनिक तहबाट कुनै प्रकारको अवरोध वा ढिलासुस्ती नहोस् भन्नेमा प्रधानमन्त्री विशेष सचेत देखिएका छन्। उनका अनुसार सरकारको प्राथमिकता सेवा प्रवाहलाई प्रभावकारी बनाउने र जनताले छोटो समयमा नै परिवर्तनको अनुभूति गर्ने वातावरण सिर्जना गर्नु हो।
सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले ‘सयवटा शासकीय सुधार’ सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूचीलाई सरकारको प्रमुख मार्गनिर्देशक दस्तावेजका रूपमा लिइएको छ, जसअन्तर्गत विभिन्न मन्त्रालयहरूले आफ्नो–आफ्नो क्षेत्रभित्र सुधारका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेछ। प्रधानमन्त्रीले मन्त्रीहरूलाई यही कार्यसूचीअनुसार परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार बालेन शाहले मन्त्रीहरूसँग नियमित रूपमा ‘ब्रिफिङ’ लिने योजना बनाएका छन्।
“कर्मचारी संयन्त्रबाट असहयोग नहोस्, काममा ढिलाइ नहोस् र मन्त्रीहरूलाई आवश्यक सहयोग समयमै उपलब्ध होस् भन्ने उद्देश्यले प्रधानमन्त्रीले दैनिकजसो संवाद गर्ने योजना बनाउनुभएको छ,” ती सदस्यले बताए। यसले सरकारभित्र समन्वय र जवाफदेहितालाई मजबुत बनाउने विश्वास गरिएको छ।
आइतबारसम्म अधिकांश मन्त्रीहरूले आफ्नो–आफ्नो मन्त्रालयको प्रारम्भिक अवस्था, उपलब्ध स्रोत–साधन, कर्मचारी संरचना र चुनौतीहरूको अध्ययन गरिसकेका छन्। उनीहरूले मन्त्रालयगत फाइलहरू हेर्ने, प्रमुख अधिकारीहरूसँग छलफल गर्ने र प्राथमिकताका क्षेत्रहरू पहिचान गर्ने काम गरेका छन्। यससँगै सोमबारदेखि मन्त्रालयगत कामलाई औपचारिक रूपमा तीव्रता दिने तयारी गरिएको छ। नयाँ सरकार गठनसँगै सार्वजनिक प्रशासनमा सुधार ल्याउने अपेक्षा व्यापक रूपमा गरिएको छ।
प्रधानमन्त्री शाहले छोटो अवधिमै परिणाम देखाउने लक्ष्य राखेकाले मन्त्रीहरूलाई पनि त्यहीअनुसार दबाब र जिम्मेवारी बढेको देखिन्छ। सरकार गठनको प्रारम्भिक चरणमै यसरी प्रत्यक्ष संवाद र निगरानीको अभ्यास सुरु हुनु प्रशासनिक दृष्टिले नयाँ शैलीका रूपमा पनि हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको यो शैलीले सरकारभित्रको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। नियमित अनुगमन, समस्या पहिचान र तत्काल समाधानको प्रयासले निर्णय प्रक्रिया छिटो हुन सक्छ। साथै मन्त्री र कर्मचारीबीचको समन्वय सुदृढ हुँदा सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।






