तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा !

काठमाडौँ । तीन जना पूर्वप्रधानमन्त्रीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेका छन्। नयाँ सरकारको निर्देशनसँगै दुवै निकायले उक्त मुद्दाको अनुसन्धान पुनः अगाडि बढाएका हुन्। 

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि अनुसन्धान अगाडि बढेको हो। 

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेनजी आन्दोलनको बेला उनीहरूको घरमा भेटिएका नगद तथा गरगहनाबारे अनुसन्धान गरिरहेको थियो। आन्दोलनको समयमा घरमै नगद जलेका भिडिओ सार्वजनिक भएको थियो। यस्तै गरगहना पनि फेला परेका थिए। तीमध्ये कतिपय नगद तथा गहना सरकारको नियन्त्रणमा छ। त्यतिबेलै कतिपय प्रमाण संकलन भइसके पनि चुनावी सरकारको पालामा अनुसन्धानले गति लिएको थिएन। 

तर, बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो चरणमा २०६२ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। त्यसका लागि उच्चस्तरीय आयोग समेत बनाउने सरकारले आफ्नो सय कार्यक्रममा घोषणा गरेको छ।

यो घोषणासँगै सरकारले तीन पूर्वप्रधानमन्त्रीमाथिको अनुसन्धानमा चासो दिएको थियो। 

‘पहिल्यैबाट अनुसन्धान भइरहेको थियो। तर बीचमा सामान्य प्रक्रियामा अगाडि बढिरहेको थियो। खासै काम अगाडि बढेन। अहिले फेरि सरकारको चासो पनि छ। हामीले पनि त्यही अनुसार कामलाई गति दिएका हौँ,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारीले भने।

विभागकै पत्रपछि आइतबार बिहान मात्रै पूर्वमन्त्री दीपक खड्कालाई सीआईबीले पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले खड्का पक्राउ परेर अनुसन्धान भइरहेको बताए। तर, पूर्वप्रधानमन्त्रीहरूको बारेमा भने उनी बोल्न चाहेनन्। 

‘दीपक खड्कालाई पक्राउ गरिदिन भनेर आजै पठाइएको हो। जलेको पैसाको विषय मात्रै होइन सम्पत्ति शुद्धीकरणको कुरा हो। अनुसन्धान गर्दै जाँदा के–के जोडिन्छ थाहै हुँदैन,’ महानिर्देशक ठाकुरले भने, ‘अरुको हकमा गर्दै गएपछि यहाँहरूले थाहा पाइहाल्नुहुन्छ नि। अनुसन्धानको विषय भएकाले भन्न पनि मिल्दैन। बाहिर आएका विषयमा मेरो नो कमेन्ट।’

यता सीआईबीको आर्थिक अपराध अनुसन्धान महाशाखाले पनि सम्पत्ति शुद्धीकरणका विषयमा पूर्वप्रधानमन्त्रीसहित माथि अनुसन्धान थालेको पुष्टि गरेको छ।  

प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘हामीलाई सम्पत्ति शुद्धीकरणका विषयमा अनुसन्धान गर्न कसैले पत्र पठाउनु पर्दैन। पहिल्यै हामीले गर्ने गरी कुरा भइसकेको छ। त्यसपछि सीआईबीमा आर्थिक अपराध अनुसन्धान महाशाखा स्थापना भएको हो। अहिले त्यही विभागले पूर्वप्रधानमन्त्रीको मात्रै होइन अरु पनि थुप्रै मुद्दा हेरिरहेको छ।’

सीआईबीले आर्थिक अपराध अनुसन्धान महाशाखा बनाउँदै सम्पत्ति शुद्धीकरणमा भएको जनशक्ति पनि आफू मातहत ल्याएको थियो। यस्ता मुद्दा अब यही महाशाखाबाट अनुसन्धान हुन्छ।

तर, आइतबार पक्राउ परेका पूर्वमन्त्री खड्काको हकमा भने आफूहरूले विभागलाई पक्राउ गर्न सहयोग गरेको सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा मनोज केसीले बताए। उनका अनुसार सीआईबीले अनुसन्धानमा सहयोग गर्नेछ। पूर्वप्रधानमन्त्रीहरूमाथिको अनुसन्धानका विषयमा भने एआईजी केसीले केही खुलाउन चाहेनन्।

पूर्वप्रधानमन्त्री ओली अहिले पनि प्रहरीकै नियन्त्रणमा छन्। शनिबार बिहान पक्राउ परेका ओलीलाई प्रहरीले त्रिवि शिक्षण अस्पतालमा भर्ना गर्दै आफ्नै नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। अहिले उनलाई जेनजी आन्दोलनमा दमन गर्दै आन्दोलनकारीको ज्यान लिएको आरोपमा अनुसन्धान अगाडि बढाइएको हो। 

ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतले पहिलो पटक ५ दिनको म्याद दिएको छ। म्याद थपका लागि प्रहरीले ओलीलाई अस्पतालमा समेत उपस्थित गराउन सकेको थिएन। स्वास्थ्यमा समस्या देखिएपछि ओली भिडिओ कलमार्फत इजलासमा जोडिएका थिए। 

अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान अगाडि बढेको विषयमा प्रतिक्रिया दिइसकेका छन्। उनले आफूले नै अनुसन्धान गर्न माग गर्दै आएको बताएका छन्। 

शेरबहादुर देउवा र पत्नी आरजु राणा भने हाल हङकङमा रहेको उनको सचिवालयले जानकारी दिएको छ। अनुसन्धानको प्रक्रिया अगाडि बढ्दै जाँदा पनि उनीहरू नफर्किए प्रहरीले इन्टरपोलको सहयोग लिन सक्नेछ। सम्पत्ति शुद्धीकरणमा तीन पूर्वप्रधानमन्त्रीसँगै उनीहरूका परिवार पनि जोडिन्छन्।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update