कांग्रेस असन्तुष्ट समूहले तय गर्‍यो केन्द्रीय समिति बैठकका लागि यी तीन एजेन्डा

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले आह्वान गरेको केन्द्रीय समिति बैठकका लागि तीन एजेन्डा तय गरेको छ ।

मंगलबारबाट शुरू हुने बैठकमा मुख्य तीन विषयमा छलफल हुने तयारी भएको समूहका नेता तथा निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए ।

धुम्बाराहीमास्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजेबाट बस्ने बैठकमा तय भएका एजेन्डामाथि  छलफल हुने बरालले बताए । ‘हालसम्म तीन एजेन्डा हामीले तय गरेका छौं‚’ उनले भने ।​

बरालका अनुसार बैठकमा पहिलो एजेन्डा २१ फागुनमा भएको निर्वाचन र त्यसबाट प्राप्त नतिजाबारे छलफल हुने छ । दोस्रो महाधिवेशन कार्यतालिकासम्बन्धी रहेको उनले बताए ।

यो समूहले वैशाखको अन्तिममा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने गरी १८ पुसमा कार्यतालिका पारित गरेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने गरी प्रस्तुत गरेको कार्यतालिका उक्त दिनको केन्द्रीय समिति बैठकले पारित गरेको थियो ।

बरालका अनुसार सोही कार्यतालिकामा केन्द्रीय महाधिवेशन गर्नका लागि भइरहेको तयारी र संभावनाबारे छलफल हुने छ । ‘हामी सबैको ब्रिफिङ लिन्छौं र सो मितिमा महाधिवेशन संभव हुने नहुने निष्कर्षमा पुग्छौं‚’ उनले थपे । यस्तै बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update