देउवा समूहको छलफल: पूर्णबहादुर 'निर्वतमान' कार्यवाहक, पार्टी सुधार्ने जिम्मेवारी गगनको

काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि शेरबहादुर देउवा पक्षको बैठक बसेको छ । शनिबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा पक्षीय नेताहरूको अनौपचारिक बैठकले अदालतको निर्णयलाई सम्मान गर्दै आगामी दिनमा पार्टी एकताका लागि अघि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्रको कानुनी लडाइँ अब समाप्त भएको र राजनीतिक सहमतिको अध्याय सुरु भएको बताए ।

नेता विश्वकर्माले अदालतको फैसलालाई फुटबलको खेलसँग तुलना गर्दै अबको सबै जिम्मेवारी गगन थापाको काँधमा आएको बताए । उनले भने, 'हिजोसम्म शेरबहादुर देउवाको खुट्टामा बल थियो र उहाँले पार्टी चलाइरहनुभएको थियो । तर सर्वोच्च अदालतले हिजोदेखि त्यो बल विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा हालिदिएको छ । अब गगन थापाले कसरी गोल गर्नुहुन्छ, कसरी पार्टीलाई एकताबद्ध बनाएर लैजानुहुन्छ, त्यो उहाँकै खुबीमा भर पर्छ ।'

अदालतको फैसलासँगै देउवा पक्षले आफ्नो आन्तरिक संरचनामा पनि फेरबदल गरेको छ । यसअघि देउवा पक्षले पूर्णबहादुर खड्कालाई 'कार्यवाहक सभापति' मान्दै आएको थियो । तर, नेता विश्वकर्माले अब खड्का 'निर्वतमान कार्यवाहक सभापति' भएको स्पष्ट पारे । उनले भने, 'अदालतको फैसला आएको क्षणदेखि नै हामीले नयाँ नेतृत्वलाई स्वीकार गरेका छौँ । हिजोसम्म हाम्रा लागि पूर्णबहादुर खड्का कार्यवाहक हुनुहुन्थ्यो, आजदेखि उहाँ निर्वतमान हुनुभयो । हामी विधिको शासन मान्ने पार्टी भएकाले अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्छौँ ।'

नेता विश्वकर्माले अदालतको फैसलाका कतिपय बुँदामा भने देउवा पक्षको गम्भीर असहमति रहेको बताए । विशेषगरी राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ का विषयमा सरकारी वकिलले जाँचबुझ नगरिएको भन्दाभन्दै फैसलामा जाँचबुझ गरिएको भनेर लेखिनु विरोधाभासपूर्ण रहेको उनको दाबी छ । 'फैसलाका आधारहरूमा हाम्रा पर्याप्त विमति छन्, तर फैसला नै मान्दिनँ भन्न मिल्दैन । फैसला कार्यान्वयन हुन्छ,' उनले भने ।

बैठकले अब पार्टीलाई भावनात्मक रूपमा जोड्नका लागि निरन्तर संवाद गर्ने निष्कर्ष निकालेको छ । नेता विश्वकर्माका अनुसार देउवा पक्ष अब पार्टीलाई ठूलो र बलियो बनाउनका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार छ । उनले भने, 'हामी अब निरन्तर छलफलमा बस्छौँ । देशभरका साथीहरूको सुझाव सुन्छौँ । पार्टी फुटेर होइन, जुटेरै चुनावमा जानुपर्छ भन्नेमा हामी प्रस्ट छौँ ।' अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि कांग्रेसभित्रको कानुनी अन्योल हटेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update