ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं - पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।

कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेश भएसँगै आइतबारका लागि पेसी तोकिएको थियो। तर, सुनुवाइ नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका नेता लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए।

उक्त आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update