काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत २६ गतेमात्रै रिहा हुने भएको छ ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब म्याद नथप्न परमादेश जारी गरेको छ । परमादेशमा चैत २२ मा काठमाडौं जिल्ला अदालतले म्याद थपका लागि दिएको समय पश्चात् थप म्याद नथप्न भनिएको छ ।
‘चैत २१ देखि लागु हुने गरी तेस्रोपटक पाँच दिनको म्याद थप अनुमति प्रदान गर्नेगरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ चैत २२ भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार सो हुन नसकेमा तत्पश्चात अर्थात् तेस्रोपपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नू गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,’ आदेशमा लेखिएको छ ।
यस आदेशअनुसार ओली र लेखकमाथि अनुसन्धानका लागि अब म्याद थप गर्न पाइने छैन । जिल्ला अदालतबाट प्रहरीले हिजोमात्रै पाँच दिनको म्याद थप गरेको छ ।






