पित्तथैलीको शल्यक्रिया गरेका ओलीको डिस्चार्ज

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । गत सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पित्तथैलीको शल्यक्रिया गरेका ओली शनिबार डिस्चार्ज भएका हुन् ।

शल्यक्रियापश्चात उनलाई मनिटरिङका लागि आईसीयूमा राखिएको थियो । स्वास्थ्य अवस्था सुधार भएपछि ओली डिस्चार्ज भएका उनको सचिवालयले जनाएको छ ।

उनको शल्यक्रियामा नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेश राज सिग्देलको समन्वयमा जीआई सर्जरी विभागका प्रा.डा. पलेश्वा जोशी लाखे, सह प्रा.डा. विष्णु प्रसाद कँडेल र डा. दीपक शर्मा संलग्न टोली सहभागी थियो । शल्यक्रिया टोलीमा एनेस्थेसियोलोजीको तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update