काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित दुई हप्ताको युद्धविराममा आफू सहमत भएको बताएको बीबीसीले जनाएको छ । यो सहमति ‘होर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावतलाई अनुमति दिएपछि मात्र लागु हुने समाचारमा उल्लेख छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानमाथि भइरहेका आक्रमणहरू रोकिएमा इरान पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपतिले सम्झौताका लागि मंगलबार राति ८ बजेसम्मको समयसीमा तोकेका थिए । उनले सम्झौता नभए आज राति एउटा पूरै सभ्यता समाप्त पार्ने चेतावनी दिएका थिए । तर, अन्तिम समयमा आएको कूटनीतिक पहलले ठूलो युद्धको खतरालाई तत्कालका लागि टारेको बताइएको छ ।
मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले ट्रम्पलाई आफ्नो समयसीमा दुई हप्ताका लागि बढाउन आग्रह गरेको थियो । साथै, पाकिस्तानले दुवै पक्षलाई आगामी शुक्रबार इस्लामाबादमा वार्ताका लागि निमन्त्रणा दिएको छ ।
पाकिस्तानी हस्तक्षेपले ट्रम्प र इरान दुवैलाई आफ्नो कडा अडानबाट पछि हट्ने एउटा सुरक्षित बाटो दिएको बीबीसीले जनाएको छ । यद्यपि, यो केवल दुई हप्ताको अस्थायी युद्धविराम मात्र भएको जनाइएको छ । यो वार्ताले स्थायी शान्ति ल्याउला वा पुरानै अवस्थामा फर्केला भन्ने विषय शुक्रबार इस्लामाबादमा हुने वार्ताले तय गर्ने बताइएको छ ।






