पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरासहित २८ जना व्यक्ति र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले महरा, उनका छोरा राहुल महरा, तत्कालिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलसहितलाई विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो । 

उनीहरुमाथि विद्युतीय चुरो भेपमा सुन लुकाएर भन्सार छली गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।

यस्तो छ अख्तियारको भनाइ

सुन तस्करसँग करोडौ लाभ लिई त्रिभुवन अन्तराष्ट्रिय भन्सार तथा तालुक पदाधिकारी र कर्मचारीहरूसँग साँठगाठ गरी निरन्तर सुन तस्करलाई सहयोग पुर्‍याई अरबौं राजस्व चुहावट गरी अकुत सम्पत्ति कमाई चरम भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा नेपाल सरकारबाट गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदन, भन्सार विभागका निर्देशकसमेतले पेस गरेको मिति 2080/04/23 गतेको छानविन प्रतिवेदनबाट उक्त ईलेक्ट्रिक सिगरेट (भेप) को एक्स-रे गर्ने, चेकजाँच गर्ने, जफत गर्ने, डिपोजिट गर्ने र कार्यालय प्रमुख समेतका कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गरेको नदेखिएको भन्ने व्यहोराको छानविन प्रतिवेदन, यसै विषय सँगसम्वन्धित जिल्ला अदालत काठमाडौंमा अभियोग दायर भई मुद्दा नं.०७९-C१-३१४२ उपर फैसला हुँदा मिति २०७९/0९/१० गते चिनियाँ नागरिक LI HANG SONG साथ लिई आएको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) भित्र बहुमुल्य धातु सुन रहेको तथ्य स्वकार गर्दै, अभियोग दाबी बमोजिम अपराधिक विश्वासघात र भन्सार चोरी पैठारी कसुरमा संलग्न प्रतिवादीहरूलाई कसुर कायम गरी सजाय गरेको, प्रतिवादीहरूउपर सम्पत्ति शुद्धिकरण गरेको कसुरमा मुद्दा दायर भई हाल काठमाडौ जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेको तथ्यसमेतका आधार कारणहरूबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखामा मिति २०७९/०९/१० गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक LI HANG SONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा पहेंलो धातु सुन लुकाई छिपाई लिई आएको उक्त सामग्री भन्सार कार्यालयका तत्कालीन शुरू जाँचकी (X-Ray screener) नायब सुब्बाले शुरू एक्स-रे गर्दा स्क्रिनमा उक्त व्यागेज भरी एकै किसिमका वस्तु एउटै साइजको निलो निलो रङको कभर जस्तो सेपभित्र कालो कालो वस्तु शंकास्पद देखि मालवस्तु भौतिक रूपमा पनि चेकजाँच गरी वस्तुको एकिन गरी आवश्यक कारवाही गर्नुपर्ने देखिएको हुनाले RC (Red Channel) लेखेको देखिएको, उक्त ईलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा पहेंलो धातु सुन लुकाई छिपाई लिई आएको सामग्रीमा RC उल्लेखित मालवस्तु RC क्षेत्रमा खटिएका भन्सारका राष्ट्रसेवक कर्मचारीहरू भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठसमेतका प्रतिवादीहरूले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा बदनियत राखी आफ्नो पद तथा ओहदाको दुरूपयोग गरी ईलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा पहेंलो धातु सुन लुकाई छिपाई लिई आएको भन्ने थाहा जानकारी भएको कारण X-ray Machine ले चेकजाँचको क्रममा स्पष्ट रूपमा Organic In-organic Material छुट्टयाउन सक्ने, सुनचाँदी लगायतका धातु तथा सोबाट तयार भएका गहना लगायतका सामाग्रीहरू Thickness को आधारमा नलो, गाढा नीलो र कालो रङ देखाउने र त्यस्तो देखिएमा भौतिक रूपमा खोल हेरी चेकजाँच गर्नुपर्ने तथा भन्सार ऐन विपरीत हुने उक्त सामग्री चेकजाँचनै नगरी नगराई पछि अनुकूल समयमा सट्टापट्टा तथा परिवर्तन गरी लिई जाने गरी हाल सुरक्षित राख्ने जफत गर्ने निर्णय गरे गराएको देखिएको, त्यसैगरी जफत सामग्रीलाई तोकिएको गोदाममा बन्द गरी सुरक्षित राख्नुपर्नेमा सो नगर लामो समयसम्म दूषित मनशायले प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठकै कार्यकक्षमा राख सुन ल्याउने, छुटाउने समूहका प्रतिवादीहरूसमेतसँग अस्वाभाविक भेटघाट र टेलिफोन सम्पर्क गरी गराई प्रचलित कानुन विपरीत सुन लिएर आउने LI HANG SONG को राहदानीसमेत प्रमाण लोप गर्ने बदनियतले निज LI HANG SONG लाई नै फिर्ता दिए दिन लगाएको तथ्य पुष्टि भएको देखिएको, उक्त जफत गरिएको भनिएको सामाग्री बेरीतपूर्वक प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठले आफ्नो कार्यकक्षमा राखी मिति २०७९/१०/२९ गते मात्र मुद्दा तथा लिलामी शाखामा पठाए पठाउन लगाएको तथ्य पुष्टि भएको देखिएको, उक्त शाखामा ईलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा पहेंलो धातु सुन लुकाई छिपाई लिई आएको सामाग्री प्राप्त भैसकेपश्चात उपयुक्त समयमा सामाग्री परिवर्तन गर्ने बदनियतले गोदाम कोठामा रहेको CCTV ले नदेखिने स्थानमा स्थानान्तरण गरे गराएको देखिएको, कार्यालयको सुरक्षा गार्ड निर्मल कुमार वि.क.ले नायव सुव्वा मधुसुदन पोख्रेलसमेतसँगको मिलेमतोमा एउटा ईलेक्ट्रिक सिगरेट (भेप) 1(एक) थान झिकी झिक्न लगाई कोटेश्वरको सुनचाँदी पसलमा लगी चेक गर्दा ९९.६ लाल सुन रहेको खुली सुनको सिक्री बनाएको देखिएको।

त्यसैगरी, मिति २०७९/०९/१० गते बाटनै प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा तथा निजमार्फत निजकछोरा राहुल भन्ने रेशम महराले चिनियाँ नागरिकहरू DAOJIN WANG, LI HANG SONG, बेल्जीयन नागरिक Dawa Tsering Nima  Gurung लगायतका प्रतिवादीहरूसँगको मिलेमतो तथा योजनामा अस्वाभाविक चलखेल गरी भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरूण पोखरेल लगायतको अन्य राष्ट्रसेवक प्रतिवादीहरूलाई प्रभावमा पारी आफूसमेतलाई लाभ प्राप्त गर्ने गरी उक्त ईलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा लुकाई छिपाई ल्याईएको पहेंलो धातु सुनसमेतका सामाग्रीहरू गैरकानुनी तवरबाट भन्सार कार्यालयबाट लिई जाने बदनियतले पटक-पटक भेटघाट तथा फोन सम्पर्क गरे गराएको तथ्य पुष्टि भएको, प्रतिवादीहरूले योजना बनाए बमोजिम जफत गरी सुरक्षित राखिएको सामाग्री गोदाम कोठाबाट सुन भएको ईलेक्ट्रिक सिगरेट(भेप) परिवर्तन गरी गराई झिकी सुन नभएको ईलेक्ट्रिक सिगरेट(भेप) राखे राख्न लगाएको तथ्य आफ्नो कसुर लुकाउन छिपाउने बदनियतले उक्त सामाग्री लिलाम भएको देखाएको, प्रतिवादीहरूको आपसी मिलेमतो तथा योजना बमोजिम मुद्दा तथा लिलामी शाखाका ना.सु रेवन्त खड्का, व्यापारी दिनेश बस्नेतसमेतले व्यापारी वेद प्रकाश अग्रवाल समेतसँगको साँठगाँठमा काठमाडौंको भद्रकाली चोक ओटुस्थित पशुपति सुन चाँदी पसल संचालन गरी बस्ने भारतीय नागरिक साहेवराव पाण्डुरङ मरगले र स्पष्ट नाम थर वतन नखुलेका अन्य भारतीय नागरिकहरूलाई उक्त सुन बिक्री बितरण गरे गराएको देखिएको, भ्रष्टाचारजन्य कसुरबाट प्राप्त गैरकानुनी सम्पत्ति राष्ट्रसेवक प्रतिवादीहरू र गैरराष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतो बमोजिम प्रतिवादीहरू दिपिका थापा, प्रेरणा थापा, ललिता थापा, DEXTER TRAVELS AND TOURS PVT.LTD समेतको खातामा रकम जम्मा गरे गराएको र प्रतिवादी राम केशव थापा क्षेत्री तथा अमृत कार्कीको नाममा जग्गा खरिद लगायतका आर्थिक कारोबारहरूको माध्यमबाट कसुर गरी प्राप्त सम्पत्तिको रूपान्तरण हस्तान्तरण गरी गराई व्यवस्थापन गरे गराएको जम्‍मा 8480.515704 ग्राम सुनको हुन आउने रकम रू.७,७८,६८,०९५।19 बराबरको सम्पत्ति हिनामिना हानिनोक्सानी गरे गराएको तथ्य पुष्टि भएको देखिंदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरूउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय

सि.नं

नामथर, पद र कार्यालय

बिगो रू.

कसुर तथा सजायको मागदाबी

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ,  प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल,  भन्सार अधिकृत रमेश कुमार खतिवडा,  भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा के.सी., नायब सुब्बा भुवनराज घिमिरे,  नायब सुब्बा उमेश प्रसाद कोईराला,  नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेल

रु.७,७८,६८,०९५।१९

भ्रष्टाचार निवारण ऐन, 2059 दफा १७ बमोजिमको कसुरमा बिगो रू. सात करोड अठहत्तर लाख अठसठ्टी हजार पन्चानब्बे रुपैया उन्नाईस पैसा कायम गरी सोही ऐनको दफा 17 ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम बिगो असुल उपर हुन

साथै प्रतिवादी अरुण पोखरेललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक भई सार्वजनिक संस्थाको प्रमुखको हैसियतले कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 24 बमोजिम थप सजाय हुनसमेतको मागदाबी लिइएको छ।

प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा,  राहुल भन्ने रेशम महरा,  निर्मल कुमार वि.क., लोकेन्द्र कुमार पौडेल,  दिपेश बस्नेत,  गोपाल सुवेदी,  दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, NIMA GURUNG, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक LI HANG SONGDAOJING WANG, बेल्जियम नागरिक DAWA TSERING, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र DEXTER TRAVELS AND TOURS PVT.LTD

रु.७,७८,६८,०९५।19

भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसुर भएको हुँदा बिगो सात करोड अठहत्तर लाख अठसठ्टी हजार पन्चानब्बे रुपैया उन्नाईस पैसा कायम गरी मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा 3 को उपदफा (1) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम विगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिबन्धात्मक वाँक्याश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ।

                                                     

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update