एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । देशभर एक वर्षको अवधिमा सात हजार ६४८ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, यस अवधिमा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् ।

कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ ।

आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्यांकले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार, गत वैशाख १ गतेदेखि यही चैत २७ गतेसम्मको अवधिमा देशभर आगलागीका तीन हजार ७२० वटा घटना भएका छन् । आगलागीमा परेर १०५ जनाको ज्यान गएको छ । त्यस्तै, ५७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रभावित भएका छन् । 

सो अवधिमा डढेलोको घटना ३२८ वटा भएका छन् । डढेलोमा परेर दुईजनाको निधन भएको छ भने तीनजना घाइते भएका छन् भने ५८ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउने, ज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्नसमेत सबैमा अनुरोध गर्दै आएको छ ।

प्राधिकरणका अनुसार, यही चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर कुल १९ विपद्का घटना हुँदा आगलागीका मात्रै १६ वटा रहेका छन् । सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले पनि सक्रियताका साथ सावधानी अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update