भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार

 

भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारी सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/०८३ आजसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताले भ्रमण गरेका छन् । 

औद्योगिक शान्ति नेपाल संस्थाले चैत २६ गतेदेखि सञ्चालन गरेको महोत्सवमा आज नौ दिनसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भइसकेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

महोत्सवमा एकै छानामुनि दैनिक उपभोग्य सामग्री र विभिन्न सामान पाउने भएपछि उपभोक्ताको भीड बढ्दै गएको र आजसम्म १८० भन्दा बढी कक्षबाट ५० लाखभन्दा बढीको कारोबार भएको उनले जानकारी दिए ।

स्थानीय उत्पादनलाई बजार प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका विभिन्न सामान एकै थलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपुरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई एकै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटोका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रविधि, अटोमोबाइल, विद्युतीय मेसिन, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको छ ।

वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक उपभोग्य सामग्री, लत्ताकपडाको स्टलमा दैनिक उपभोक्ताको भीड लागेको अध्यक्ष महतले जानकारी दिए । महोत्सवमा मुख्य आकर्षणका रूपमा राखिएको लन्डन ब्रिजमा फोटो तथा भिडियो खिच्नेहरूको उत्तिकै भीड देखिन्छ भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटे पिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाको विभिन्न प्रकारको खेलौना, र विभिन्न प्रकारका खानामा उपभोक्ताको त्यत्तिकै भीड देखिन्छ । 

दैनिक चर्चित गायक–गायिकाको सांस्कृतिक महोत्सव

महोत्सवमा दैनिक रूपमा चर्चित गायकगायिकाले यहाँको साङ्गीतिक माहोललाई महोत्सवका रूपमा परिणत गरेको छ । राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारको गीत, सङ्गीतले महोत्सवमा युवापुस्ताको भीड उत्तिकै बढेको छ । 

चर्चित गायक रामकृष्ण ढकालदेखि गायिका रचना रिमालसम्मले महोत्सवलाई उत्सवमय बनाएका छन् । गायिका एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन विष्ट, रमेश मेलोडी, जङ्की रोयल्स ब्यान्ड, भोजराज काफ्लेलगायत दर्जन कलाकारको दैनिक प्रस्तुतिले साङ्गीतिक महोत्सवमय बनेको छ । 

भक्तपुरमा पहिलोपटक भक्तपुर वाइल्ड फायर नाइट

महोत्सवकै अवसरमा भोलि शनिबार साँझ प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड र दुर्गेश थापाको प्रस्तुति रहनेगरी भक्तपुर वाइल्ड फायर नाइटको आयोजना गर्ने भएको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।

कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौँ चर्चित गीत गाएका थापा र चर्चित गायक खरेल एन्ड परम्परा ब्यान्डको भव्य प्रस्तुति रहने उनले जानकारी दिए । अध्यक्ष महतले भक्तपुरमा पहिलोपटक दुर्गेश र खरेलले एकै मञ्चमा र एकैपटक प्रस्तुति दिन लागेको जानकारी दिँदै यो जोडीको प्रस्तुति हेर्न हजारौँ दर्शकको आगमन हुनेगरी तयारी पूरा गरेको जानकारी दिए । साङ्गीतिक प्रस्तुतिसँगै हाँस्यव्यङ्ग्य, फेसन शो, नृत्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षण बनाएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update