सिरहा । सिरहाको लहान नगरपालिका–२४ स्थित गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माण सुरु भएको छ ।
लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीयस्थल मानिकदह जाने बाटोमा पर्ने सरे खोलाको दक्षिणी किनारमा रहेको १० कट्ठा जग्गामा बृद्धाश्रम निर्माण भइरहेको हो ।
वृद्धाश्रम निर्माणस्थलको करिब ३०० मिटर पश्चिमतर्फ कृष्ण मन्दिर निर्माणकार्य पनि अगाडि बढिरहेको छ । मन्दिर र वृद्धाश्रमको बीचमा पोखरी निर्माण गरी त्यसमा गोल (जाइठ) राख्ने पूजासमेत सम्पन्न गरिएको छ ।
भूमिपूजा कार्यक्रममा लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं २४ का वडाध्यक्ष रासलाल राय, तथा महिला मानवअधिकारकर्मी रीता महतोको सहभागिता रहेको थियो ।
वृद्धाश्रम निर्माणका लागि लहान नगरपालिकाले १० कट्ठा जग्गा उपलब्ध गराएको छ भने चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार कार्यालयमार्फत २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । थप बजेटका लागि नगरपालिकाले व्यवस्थापन गर्ने उनको भनाइ छ ।
वडाध्यक्ष रायले आफ्नो वडामा विकासका गतिविधि तीव्र रूपमा अघि बढिरहेको बताए ।
‘यस वडामा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा तथा धार्मिक पर्यटकीय क्षेत्र मानिकदहको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । स्थानीयको आवश्यकता र चाहनाअनुसार पूर्वाधार निर्माणलाई निरन्तरता दिएका छौँ, जसले समग्र वडाको विकासलाई गति दिएको छ,’ उनले भने ।
उक्त क्षेत्रमा स्थानीय कृषकको मागअनुसार हाटबजार सञ्चालनको तयारीसमेत गरिएको वडाध्यक्ष रायले जानकारी दिए । मन्दिर निर्माण समितिका अध्यक्ष वालेश्वर राउत कुर्मीका अनुसार, केही दिनअघि सम्पन्न श्रीमद्भागवत सप्ताह विष्णु महायज्ञपछि सो क्षेत्रको नाम ‘पुलचोक’ राखिएको छ, यसले उक्त स्थानलाई धार्मिक तथा सामाजिक रूपमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ ।






