काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले बढी धुँवा उत्सर्जन गर्ने १२ सवारीसाधन नियन्त्रणमा लिएको छ ।
विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा निजी तथा सार्वजनिक दुवै प्रकारका छन् ।
नियमित रूपमा सञ्चालनमा रहेका यस्ता सवारीले तोकिएको प्रदूषण मापदण्ड उल्लंघन गर्दै अत्यधिक धुवाँ फाल्ने गरेको पाइएको छ।
कारबाही स्वरूप नियन्त्रणमा लिएर अहिले ती सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तीन सवारीसाधनलाई नियमअनुसार जरिवाना गरिने बताए । ''नियमअनुसार जरिवाना तथा प्राविधिक सुधारपछि मात्रै त्यस्ता सवारी साधनलाई छाडिनेछ,'' उनले भने ।
सवारीसाधनको नियमित मर्मतसम्भार नगर्ने, इन्जिनमा समस्या भए पनि बेवास्ता गर्ने तथा प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने प्रवृत्तिका कारण यस्तो समस्या बढिरहेको उनले बताए ।
ट्राफिक प्रहरीले सवारी चालक तथा धनीहरूलाई समयमै सवारी साधनको प्रदूषण परीक्षण गराउन, इन्जिनको नियमित मर्मत गर्न र वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ ।
आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाइने र मापदण्ड उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।






