वर्षाका कारण कृषिबाली नष्ट, काभ्रेका दुई पालिकामा मात्रै ४६ करोडको क्षति

काभ्रे । गत वैशाख १२ र १३ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकका दुई स्थानीय तहमा करोडौंको क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक भएको छ । 

वर्षाका कारण कृषि क्षेत्रमा पुर्‍याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् । 

कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६ सय रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा क्षति पुगेको छ । 

आलु, तोरी, सर्स्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएको जनाइएको छ । 

यस्तै तरकारी र फलफूलका बिरुवा पनि नस्ट भएका छन् भने वडा नं २ मा ४०० रोपनी, वडा नं ३ मा एक हजार २०० रोपनी, वडा नं ४ मा ६०० रोपनी, वडा नं ५ मा ५०० रोपनी र वडा नं ६ मा ३०० रोपनीमा क्षति पुगेको विवरण उल्लेख छ । 

यसैगरी उक्त गाउँपालिकामा कागती, सुन्तला र बोधिचित्तका फुल, तरकारी बालीमा अधिक क्षति भएको गाउँपालिकालेसमेत जनाएको छ । 

करिब ६५ लाख बराबरको उत्पादनमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र पन्त जानकारी दिए । 

त्यस्तै पनौती नगरपमा आलु ४३ करोड २६ लाख बराबरको क्षति भएको विवरण बुझाइएको छ । 

नगरका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा रोपिएको १० हजार ३०० मेट्रिकटन आलुमा आंशिक तथा पूर्ण क्षति भएको छ । 

ओलीले कृषि कार्यालयमा बुझाएको विवरणमा ५०० टनेल २५ लाख, १० हेक्टरमा लगाइएको गोलभेँडा २५० मेट्रिकटनअनुसार एक करोड २५ लाख र १० हेक्टरमा लगाएको काक्रा ३०० मेट्रिकटन अर्थात् एक करोड ५० लाख बराबरको क्षति भएको बताए । 

पनौतीमा मात्रै ४६ करोडको कृषिबालीमा क्षति भएको नगरपालिकाको दाबी छ ।

यसैबीच उक्त वर्षाले धुलिखेल नगरपालिका–१० र १२ नं वडाका कृषि बालीमा पुगेको क्षति तथा अन्य वडामा भएको क्षतिको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कृषकलाई अन्नबाली, तरकारी बालीमा पुगेको क्षतिको राहतका लागि प्रदेश सरकारसँग समन्वय गरिएको बताए । 

उनका अनुसार विसं २०८१ असोज १०–१२ को वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्दै प्रदेश सरकारमा पठाउँदै आएको राहत बितरण गरिरहेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update