भजनी नगरपालिकाको असक्षमताः चार वर्षमा पनि सकिएन ५५ मिटर सडक निर्माण

 

कैलाली । भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५  मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन । 

नगरपालिका–३ पडरीया चोक हुँदै ठेकीपुर हुलाकी राजमार्गसँग जोडिएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको थियो । जसअनुसार २०८० असारभित्रै सडक निर्माण हुनुपर्ने थियो । 

चार लेन सडकको हालसम्म चारपटक म्याद थप भएको छ । 

पछिल्लो म्याद चालु आवको असार १५ गतेसम्म छ । प्रदेश  सरकारको रु ६६ लाख र स्थानीय तहको रु ६६ लाख गरी रु एक करोड ३२ लाखमा ठेक्का आह्वान गरिएको थियो । काम नभएपछि प्रदेश सरकारको अनुदान फिर्ता भयो । 

नगरपालिकाका इन्जिनियर अजय डगौराले निर्माण कम्पनीलाई जति ताकेता गर्दा पनि काम नभएको बताए । नगर कार्यपालिकाले म्याद थप गरेपछि कारबाहीको प्रक्रियामा जान समस्या भएको भन्दै उनले यसपटकको कार्यपालिका बैठकले अन्तिम पटक भन्दै म्याद थपेको जानकारी दिए ।

उक्त सडक निर्माणको जिम्मा काफली कन्स्ट्रक्सनले पाएको थियो । नगरपालिकाले चालु आवमा आफ्नो स्रोतबाट १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमा पनि नआएको इन्जिनियर डगौराको भनाइ छ । 

काफली कन्स्ट्रक्सनका सञ्चालक शङ्कर शर्माले ठेक्का आफ्नो कम्पनीले पाए पनि काम गर्न भने तेस्रो व्यक्ति ज्ञानुलाभलाई जिम्मा दिएको तर उनले काम नगरेको बताए । शर्माले अबको एक साताभित्र आफैले काम सुरु गर्ने बताए ।

साथै सङ्घीय सरकारको ५० लाख र स्थानीय सरकारको ५० लाख रुपैयाँ बजेटबाट हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिका–३ ठेकीपुर हुँदै भजनी बजार जोड्ने चार लेनको १३० मिटर सडक कालोपत्र अलपत्र परेको    छ । विसं २०८१ जेठ २४ गते बिएण्डबी कन्स्ट्रक्सनले सडक कालोपत्रेको जिम्मा पाएको थियो । 

विसं २०८२ असार २० गते सम्झौताको म्याद सकिएपछि सङ्घीय सरकारबाट आएको अनुदान पूरै खर्च हुन सकेन । त्यसपछि नगरपालिकाले आफ्नो स्रोतबाट सडक निर्माण गर्ने भन्दै ११ लाख रुपैयाँ बजेट विनियोजन गरी सोही वर्षको मङ्सिरभित्र सम्पन्न गर्ने गरी म्याद थपिएको थियो । त्यसपछि पुनः पुसमा अर्को म्याद थपिएको थियो । तर हालसम्म पनि काम भएको छैन । रासस

 

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update