आज मिति २०८३ जेठ १० गते आइतबार तदनुसार २४ मे, २०२६ । ज्येष्ठ अधिक शुक्लपक्ष अष्टमी तिथि ।
मेष - अवसरहरू पाए पनि मेहनत अनुसारको नतिजा नदेखिन सक्छ। सहयोगीहरूले नै धोका दिन सक्छन्। काममा अवरोध हुँदा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्ने देखिन्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं लगनशीलताले सामान्य प्रतिफल हातपार्न सक्ने योग छ ।
वृष - आश्वासन बाँड्नेहरूले नै झुक्याउन सक्ने भएकाले सतर्क रहनुहोला। कामको अवसर प्रशस्तै प्राप्त हुनेछन्। तर तत्काल प्रतिफल नदेखिन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा फेरि प्रयत्न गर्नु राम्रो हुनेछ।
मिथुन - नयाँ काम प्रारम्भ गर्नु उपयुक्त हुन्छ। चिताएको काममा सफलता मिल्ने योग छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गरेका व्यवसायबाट मनग्गे लाभ हुनेछ। मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउने योग छ।
कर्कट - बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम पूरा होला । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मेहनतले सम्मानित हुने अवसर दिनेछ। मान-सम्मान प्राप्त हुनेछ।धन लाभ हुने योग छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त होला।
सिंह - रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।
कन्या - परिस्थितिले खर्च बढाउन सक्छ। आशा देखाउनेहरू विश्वास गर्दा धोका पाउन सक्नुहुन्छ। परिश्रमको तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ।
तुला - नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
बृश्चिक - तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले लक्ष्य प्राप्ति सजिलो हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ।
धनु - मेहनत गर्दा भाग्योन्नतिको समय छ। सामुदायिक तथा सेवामूलक कामले पद–प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हातपार्न सक्ने योग छ। रोकिएको काम पूरा होलान्। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। मेहनतको परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मकर - खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु उचित हुन्छ। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। कामबाट तत्काल फाइदा नहुने देखिन्छ। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। आँटेको काम बन्न सक्छ।
कुम्भ - पहिरनको तारिफ होला। व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्ने योग छ।घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रबाट सहयोग हुने र प्रेममा सुखको योग छ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।
मीन - ईर्ष्या गर्नेहरूले दुःख दिन सक्नेछन्। तापनि शत्रुहरू किनारा लाग्ने र प्रतिस्पर्धामा विजयी हुने योग छ । स्वास्थ्यमा केही समस्या देखिए पनि काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।मेहनतले प्रशस्त फाइदा दिलाउनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।






