सरुमारानी गाउँपालिकामा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड शिविर हुने

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाको आयोजनामा गर्भवती महिलाहरूका लागि निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) शिविर सञ्चालन हुने भएको छ।

गाउँपालिकाले सूचना जारी गर्दै जेठ २० गतेदेखि जेठ २५ गतेसम्म विभिन्न वडाका स्वास्थ्य केन्द्रहरूमा शिविर सञ्चालन हुने जानकारी दिएको हो।

विशेष गरी हालसम्म भिडियो एक्सरे नगरेका, १६ देखि २८ हप्तासम्मका र ३६ हप्ता पछाडिका तत्काल भिडियो एक्सरे नगरेका गर्भवती महिलाहरूलाई लक्षित गरी यो शिविर आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिए।

शिविरमा नाम दर्ता गर्ने समय बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ।

जेठ २० गते वडा नं. ६  बुढीचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र, जेठ २१ गते वडा नं. ३ हंसपुर स्वास्थ्य चौकी, जेठ २२ गते वडा नं. ५ ढुङ्गेगढी स्वास्थ्य चौकी बाङ्गेसाल, जेठ २४ गते वडा नं. २ ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्र र जेठ २५ गते वडा नं. ४ बडडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उक्त सेवा नियमित सञ्चालन हुनेछ।

गर्भमा रहेको भ्रूणको अवस्थाबारे विस्तृत जानकारी दिइने तथा गर्भमा रहेको भ्रूण र आमालाई कुनै स्वास्थ्य समस्या देखिएमा प्रारम्भिक व्यवस्थापनसहित आवश्यक अन्य अस्पतालमा प्रेषण गरिने छ ।

गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण योग्य गर्भवती महिलाहरूलाई पायक पर्ने स्थानमा उपस्थित भई यस निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update