सरुमारानी गाउँपालिकाले निःशुल्क आँखा शिविर संचालन गर्दै, मोतीबिन्दुको शल्यक्रिया गरिने

 

काठमाडौँ । प्यूठानको सरुमारानी गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। 

गाउँपालिकाले लमही आँखा अस्पताल, लमहीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा आँखा शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिए ।

शिविरमा मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रियाका लागि छनोट तथा आँखा परीक्षण गरिने छ। गाउँपालिकाले स्वास्थ्य शिविर संचालन सम्बन्धी सार्वजनिक सुचना नै प्रकाशन गरेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार भदौ ८ गते वडा नम्बर २ स्थित ददेरी आधारभूत स्वास्थ्य सेवा केन्द्र, भदौ ९ गते वडा नम्बर ४ स्थित बडडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र र भदौ १० गते वडा नम्बर ५ स्थित ढुंगेगढी स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुनेछ।

शिविरमा सहभागी हुन चाहने नागरिकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सक्नेछन्। गाउँपालिकाले आँखासम्बन्धी समस्या भएका नागरिकलाई शिविरबाट सेवा लिन आग्रह गरेको छ।

शिविरबाट छनोट भएका मोतीबिन्दुका बिरामीको लमही आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ। तर, फेको प्रविधिबाट शल्यक्रिया गराउनुपर्ने अवस्थामा भने न्यूनतम शुल्क लाग्ने सूचनामा उल्लेख छ।

गाउँपालिकाले शिविरबाट बढीभन्दा बढी नागरिकलाई लाभान्वित गराउने उद्देश्यले सम्बन्धित वडाका नागरिकलाई समयमै उपस्थित भई आँखा परीक्षण गराउन आग्रह गरेको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update