मध्यपहाडी लोकमार्गको निसीखोला गाउँपालिकामा पर्ने वैकल्पिक पाखुट्टे—ढाँड सडक ग्राभेलिङ

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । 

बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो । 

विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको एक/एक करोड गरी दुई करोड रुपैयाँमा स्तरोन्नति गरिएको हो ।

यस वर्ष चार किलोमिटर ग्राभेल, ढलान, नाली निर्माण, फराकिलो बनाउने र ग्याविन लगाउने काम गरिएको गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए । आगामी असार १५ गतेसम्म काम सक्ने गरी जेएसआर/केटी जेभीसँग विसं २०८२ माघ २७ गते सम्झौता गरिएकामा सोहीअनुसार काम भएको उनको भनाइ छ ।

बर्खाको समयमा निसीखोला गाउँपालिका–५ कालापैरामा आउने बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुने हुँदा यस वर्ष वैकल्पिक सडकमार्फत यातायात सञ्चालन गर्न यस खण्डमा ग्राभेल गरिएको बाँठा मगरले बताए ।

‘यस वर्ष चार किलोमिटर सडकमा ठूलो लगानी गरेर ग्राभेल गरिएको छ । यो सडक व्यवस्थित भएपछि अब बर्खाको समयमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भए छोटा तथा लामा दूरीका सवारीसाधनलाई समस्या हुने छैन, सङ्घीय सरकार र गाउँपालिकाको बजेटबाट विगतदेखि नै साझेदारीमा काम हुँदै आएको छ,’ सुचना अधिकारी मगरले भने ।

उक्त सडक ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला–५ ढाँडसम्म २५ किलोमिटर लामो छ । यसले निसीखोला गाउँपालिकाको वडा नं २, ४, ५ र ढोरपाटन नगरपालिकाको वडा नं २ लाई जोडेको छ । दश वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले दुई/दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख सङ्कलन गरी रु ६१ लाखमा ट्रयाक खोलिएको थियो ।

सडक ग्राभेल भएपछि सामान ढुवानी र यात्राका लागि सहज हुने स्थानीय मीनबहादुर घर्ती मगरले बताउनुभयो । ट्रयाक खुलेको एक दशकसम्म पनि सडक व्यवस्थित नहुँदा यहाँ गाडी गुड्न सकेका छैनन । अब पश्चिम नेपालबाट राजधानी काठमाडौँ जाने सवारीसाधन यही सडक भएर सञ्चालन गर्न सहज हुने उनको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update