काठमाडौँ । गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिकाभित्रका सबै घरको सामूहिक बिमा गर्ने भएको छ ।
गाउँपालिकाले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी सबै नागरिकको घरबीमा गर्न लागेको हो । सम्झौतामा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा र कम्पनीको तर्फबाट कम्पनीको जोखिमांकन विभाग प्रमुख निरञ्जन आचार्यले हस्ताक्षर गरेका हुन् ।
विसं २०७२ बैशाख १२ को भूकम्पअघि बनेका पक्की घर तथा भूकम्पपछि पुनर्निर्माणको मापदण्ड पूरा गरेका सबै घरको बिमा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
सम्झौता अनुसार गाउँपालिकाभित्रका पालिका मातहत वा सम्बद्ध कार्यालय भवनहरुको बीमा शुल्क गाउँपालिकाले तिर्नेछ भने निजी घरको सम्बन्धित व्यक्तिले रकम तिर्नेछन् ।
घरको सामूहिक बिमा गर्न गाउँपालिका र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ‘सम्झौतालगत्तै गाउँपालिकाको प्रशासकीय भवनको बीमा गरेर कार्यक्रमको औपचारिक सुरुआत भएको छ । अब पालिकाभित्रका सबै घर र सरकारी तथा गैरसरकारी भवनको बिमा गरिने उनले जानकारी दिए ।
सामूहिक बिमा गरेका घरहरूमा कुनै पनि प्राकृतिक विपत्ति, आगलागी तथा अन्य जोखिमका कारण क्षति भएमा बिमामार्फत क्षतिपूर्ति रकम भुक्तानी हुनेछ । घर बिमाका लागि पालिकावासीले वडा कार्यालयमार्फत बिमा सेवा लिनसक्ने व्यवस्था गरिएको छ ।
गाउँपालिका र बिमा कम्पनीबीच भएको सम्झौतामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर निर्माण गरिएका घर, भूकम्पपछि मापदण्डअनुसार पुनर्निर्माण गरिएका घरलाई बिमाको दायरामा समेटिने उनले जानकारी दिए ।
तर बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका घर तथा खोलानाला, सडक मापदण्डभित्र पर्ने संरचना र पूर्ण रूपमा काठ, टिन र माटोले बनेका घर भने बिमाको मापदण्डभित्र नपर्ने उल्लेख छ ।
गाउँपालिकाले प्रतिघर न्यूनतम वार्षिक २५० रुपैयाँ सम्पत्ति कर लिने र सोहीबाट बिमाका रकमको व्यवस्थापन गर्ने योजना बनाएको प्रसासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
‘अहिलेसम्म करिब ३ हजार घरको बिमा हुन्छ भन्ने अनुमान गरिएको छ । बिमापछि प्राकृतिक विपत्तिबाट कुनै घरमा क्षति पुगे अधिकतम ४ लाख रुपैयाँसम्म क्षतिपूर्ति घरधनीले पाउने छन्,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।
उनका अनुसार बिमा कम्पनीले घरधनीका नाममा बिमा अभिलेख जारी गर्ने र क्षतिपूर्तिका लागि क्षति पुगेको ३० दिनभित्र बिमा कम्पनीलाई जानकारी गराउनुपर्ने सम्झौता उल्लेख गरिएको छ ।





