नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा १० वर्षको महानगर गुरुयोजना समेट्न ललितपुर महानगरलाई सांसदहरूले आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सङ्घीय संसद् र प्रदेशसभा सदस्यसँगको छलफल कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले ७५३ स्थानीय तहमध्ये ललितपुरले समग्र रूपमा राम्रो काम गरेको भन्दै जनताको आर्थिकस्तर अभिवृद्धि गर्ने कुरामा हस्तकला र पर्यटनलाई प्रवद्र्धन गर्ने कुरामा ध्यान दिन आग्रह गरे । 

“सङ्घीय बजेट निर्माणमा महानगरले हामीलाई पनि सुझाव दिएको भए राम्रो हुन्थ्यो, सङ्घीय बजेटमा ललितपुरलाई हामीले बजेट ल्याउन नसकेकै हो, अर्को आर्थिक वर्षमा ललितपुरलाई बजेट पार्न प्रयास गर्नेछौँ, सङ्घीय सरकारबाट निर्वाह गर्नुपर्ने भूमिका बारेमा ध्यान दिन्छौँ, नीतिगत सहजीकरण, सार्वजनिक खरिद ऐन संशोधनमा ध्यान दिन्छौँ,” प्रतिनिधिसभा सदस्य खरेलले भने ।

प्रतिनिधिसभा सदस्य प्रभा कार्कीले ललितपुरले गरेको राम्रो कामको प्रशंसा गर्दै जनताको दैनिक जीवनमा परिवर्तनमा ध्यान दिनुपर्ने, महानगरभित्र पार्किङको असुविधा रहेकाले सम्बोधन गर्न आग्रह गरे । उनले मानिस हिँड्ने पेटीमा रूख रोप्नेभन्दा पनि व्यवस्थापन गरेर मात्रै गरिनुपर्छ भने ।

बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सङ्घ र प्रदेशबाट छुटिएको बजेट भए पनि स्थानीय तहबाट नै कार्यान्वयन हुने हो भन्दै सम्पदा संरक्षण र पोखरी निर्माणमा निरन्तरता दिन, अधुरो योजना पूर गर्न, सङ्घ र प्रदेशले बजेट छुट्याएको ठाउँमा दोहोरो नपर्ने गरी बजेट निर्माण गर्न आग्रह गरे ।

बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले बागमती प्रदेशले काष्ठकला, हस्तकलाको विषयलाई अगाडि बढाउनेतिर जोड दिएको जानकारी गराउँदै ऐतिहासिक सहरका रूपमा रहेको खोकना र बुँगमतीलाई संरक्षण र विकास गर्नेतर्फ बजेटमा ध्यान दिन आग्रह गरे । 

सुझाव दिने क्रममा सांसदहरूले आर्थिक समृद्धिलाई विशेष जोड दिन, युवा केन्द्रित नवप्रवर्तनमा आधारित रोजगारी सृजना गर्न, डिजिटल नेपाल निर्माणमा सङ्घीय सरकारभन्दा ललितपुर महानगर अगाडि छ भन्ने भान दिन, अरनिकोको जन्मस्थल परिचित गराउन र चीनका पर्यटक नेपाल आएपछि अरनिको जन्मस्थल अनिवार्य पुग्ने वातावरण तयार पार्न आग्रह गरे । 

जनताको दैनिक जीवनस्तर र आयस्रोतमा वृद्धि गर्न, उत्पादनमा जोड्ने र रोजगार वृद्धि गर्नेतिर ध्यान दिएर बजेट बनाउन, सामुदायिक विद्यालयप्रति भरोसा जगाउने गरी स्थानीय विद्यार्थीलाई आकर्षित गराउन र संस्थागत विद्यालयलाई प्रभावकारी नियमन गर्नेगरी बजेट ल्याउन सुझावसहित महानगरले कृषि क्षेत्रमा ध्यान दिन नसकेको भन्दै अलि ध्यान दिएर कृषि क्षेत्रका लागि बजेट राखिनुपर्छ भन्नेमा उनस्हरूको जोड थियो ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update