वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, चालु वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी

 

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिम वर्षको लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

मेयर राजेशमान सिंह निलम्बनमा परेपछि आलमलाई कार्यवाहक मेयर तोकिएको छ ।

बीरजञ्ज महानगरले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँले बढीको हो । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगररले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ छ । यो भनेको कूल बजेटको ५४.३ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ छ । यो भनेको कूल बजेटको ४४.६ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ ५ करोड अर्थात् १.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

स्रोतको हिसाव

महानगरले खर्च व्यहोर्ने स्रोतहरुमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड, संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update