अदालतबाट सफाइ पाएपछि पदमा फर्किए मेयर सिंह, संहाले कार्यभार

काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पुनः पदमा फर्किएका छन् । 

पदबाट बाहिरिएको केही समयपछि सिंहले पूर्वसांसद प्रदीप यादवलाई साथमा लिएर तामझामसहित महानगरपालिकाको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्नुअघि सिंहले आफ्नै निवासमा पूजाआजा गरेका थिए । त्यसपछि महानगरपालिका कार्यालय पुगेका उनलाई समर्थक तथा कर्मचारीले स्वागत गर्दै कार्यकक्षसम्म पुर्‍याएका थिए ।

कार्यालय पुगेपछि सिंहले कार्यकक्षमा रहेको आफ्ना गुरुको तस्बिरमा माल्यार्पण तथा अभिषेक गरे । त्यसपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि आफू न्याय पाएर जिम्मेवारीमा फर्किएको सिंहले बताए । विरोधीहरूले सुनियोजित रूपमा आफूलाई फसाउन भ्रष्टाचार मुद्दा लगाएको दाबी गर्दै उनले अदालतको फैसलापछि ‘न्याय मरेको छैन’ भन्ने आत्मबोध भएको बताए ।

उनले वीरगन्जवासीले दिएको जिम्मेवारीमा पुनः फर्किएको भन्दै अब महानगरको नेतृत्व नियमित रूपमा सञ्चालन गर्ने बताएका छन् ।

सिंहमाथि अर्काकी छोरीको नागरिकता किर्ते गरी बनाइदिएको लगायतका विषयमा विभिन्न मुद्दा परेको थियो । ती विषय अदालत हुँदै भ्रष्टाचारसँग जोडिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेका थिए । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले सिंहलाई सफाइ दिएको हो ।

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update