बाजुराका ९ वटै स्थानीय सरकारले ल्याए बजेट, कसको कति ?

काठमाडौँ । बाजुरा जिल्लाका सबै स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । बाजुरामा ४ नगरपालिका र ५ गाउँपालिका छन् ।

जिल्लाका स्थानीय सरकारहरुले शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिँदै बजेट सार्वजनिक गरेका हुन् ।  

बडीमालिका नगरपालिकाका उपमेयर नन्दाकुमारी थापाले  आगामी आर्थिक वर्ष  २०८३/८४ का लागि ५१ करोड ६९ लाख १९ हजार रुपैयाँको  बजेट नगरसभामा पेश गरेकी छन् ।

यस्तै, बुढीगङ्गा नगरपालिकाकी उपमेयर माया खड्का (कुँवर) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी छन् ।

जिल्लाको अर्काे स्थानीय तह त्रिवेणी नगरपालिकाले ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमेयर कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ १९ करोड ७७ लाख २८ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकी हुन् ।

बुढीनन्दा नगरपालिकाले ५७ करोड ६ लाख ९६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका उपमेयर रामबहादुर बोहराले  चालुतर्फ ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ १९ करोड, आठ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

हिमाली गाउँपालिकाले ४३ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले पुँजीगततर्फ १८ करोड एक हजार र चालुतर्फ २५ करोड ६८ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

जिल्लाको अर्काे स्थानीय सरकार स्वामीकार्तिक खापर गाउँपालिकाले ४४ करोड १६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले बजेट सार्वजनिक गरेकी हुन् ।

यस्तै, जगन्नाथ गाउँपालिकाले ३८ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

यसमध्ये चालु खर्चतर्फ २३ करोड ६८ लाख १० हजार ५००  र पुँजीगततर्फ १४ करोड ९४ लाख ९० हजार ५००रुपैयाँ  विनियोजन गरिएको छ ।

खप्तड छेडेदह गाउँपालिकाले ५३ करोड १५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष विसुदेवीनाथले बजेट सार्वजनिक गरेकी हुन् ।

गौमूल गाउँपालिकाले ४० करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सीता थापाले  सार्वजनिक गरेको बजेटमा चालु खर्चतर्फ २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ ११ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update