रौतहट । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका छन् ।
यस्तै, दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाले पनि गाउँसभा गरिसकेका छन् भने कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने नगरसभा गरेका छैनन् । जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
मेयर सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले पालिकाको १७औँ नगरसभाले आव २०८३/८४ का लागि एक अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको बताए ।
त्यसैगरी, गौर नगरपालिकाको १८औँ नगरसभा आगामी आवका लागि ५३ करोड ८८ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै मेयर शम्भु साहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
मौलापुर नगरपालिकाले पनि आफ्नो नगरसभामार्फत आगामी आव २०८३/८४ को लागि करिब ४२ करोडको बजेट प्रस्तुत गरेको मेयर रिनाकुमारी साहले जानकारी दिइन् ।
बजेटले विगतदेखि नै सञ्चालनमा रहेको ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बिजुली र खानेपानी निःशुल्क तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने उद्घोष गरेको छ ।
गढीमाई नगरपालिका मेयर श्याम यादवले आव २०८३/८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरिएकामा चालु खर्चतर्फ ४० करोड ९० लाख ४७ हजार र पुँजीगत खर्चतर्फ १८ करोड ३२ लाख आठ हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
बौधीमाई नगरपालिकाको १२औँ नगरसभा नगरप्रमुख प्रदीप राय यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमेयर प्रमिला देवीले आव २०८३/८४ का लागि ६३ करोड ९६ लाख चार हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेकी थिइन् ।
वृन्दावन नगरपालिकाको ११औँ नगरसभामा आगामी आव २०८३/८४ का लागि ६० करोड ९२ लाख २५ हजार ८८१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको नगरप्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिए । राजपुर नगरपालिकाको १०औँ नगरसभा आगामी आव २०८३/८४ का लागि ५० करोड २१ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको छ ।
माधव नारायण नगरपालिकाको ११औं नगरसभामा आव २०८३/८४ का लागि रु ५० करोड २९ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको छ । रासस





