काठमाडौँ । रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखमाथि हातपात भएको छ ।
असार २२ गते सबा १ बजेतिर वडा नं.३ का वडाध्यक्ष केशरमान विकसहित नगरपालिका गएका खडक बहादुर विकले प्रमुख प्रशासकीय अधिकृत तथा लेखा शाखा प्रमुखमाथि हातपात गरेको कर्मचारीहरुको भनाइ छ । हातपात गर्ने विक वडा नं. १२ का पूर्ववडा सदस्य पनि हुन् ।
नगरपालिकाका कर्मचारीहरुले प्रेस विज्ञप्ति जारी गरी सो कार्यको विरोध गरेका छन् ।
‘यस आठविसकोट नगरपालिकाको कार्यालयमा मिति २०८३।०३।२२ गते दिउँसो १ः१५ बजे कार्यालयको नियमित प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाहको क्रममा आठविसकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष केशरमान विकसहित आएका १२ नं. वडाका पूर्व वडा सदस्य खडक बहादुर विकले कार्यालयको नियमित कार्य सम्पादनमा अवरोध सिर्जना, गाली बेइज्जति कार्यालय प्रमुख र लेखा प्रमुखमाथि हातपात गर्ने प्रयास गरी कार्यकक्षबाट बाहिर लखेटिएकोले कर्मचारीलाई जिम्मेवारी अनुसार कार्य गर्न नदिएको घटनाप्रति नगरपालिकाको कर्मचारी परिवारको गम्भीर ध्यानाकर्षण भएको छ,’ नगरपालिकाका कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कर्मचारीहरुले नेपालको संविधान, प्रचलित कानून तथा सुशासनका मान्यता अनुसार राष्ट्रसेवक कर्मचारीलाई आफ्नो जिम्मेवारी निष्पक्ष, निर्भीक र कानुन बमोजिम सम्पादन गर्ने अधिकार तथा दायित्व रहेको स्मरण गराउँदै सार्वजनिक कार्यालयमा सेवा प्रवाह अवरुद्ध गर्ने, कर्मचारीलाई धम्की, दबाब वा अवाञ्छित व्यवहार गरी कार्यसम्पादनमा बाधा पुऱ्याउने कार्य कानुनसम्मत नमानिने जनाएका छन् ।
‘यस प्रकारका गतिविधिले आम नागरिकले प्राप्त गर्नुपर्ने सार्वजनिक सेवा प्रभावित हुनुका साथै कार्यालयको नियमित प्रशासनिक कार्यमा समेत प्रतिकूल असर परेको छ । नगरपालिकाले यस्ता कार्यप्रति गम्भीर असहमति व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार तथा कानुनसम्मत व्यवहार गर्न हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले कार्यालयको शान्ति, सुरक्षा तथा नियमित सेवा प्रवाहमा अवरोध पुऱ्याउने, सरकारी कामकाजमा बाधा पुऱ्याउने वा कानून विपरित गतिविधि गर्नेलाई तत्काल प्रचलित कानून बमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइ दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।





